के हुँदै छ टेक्सस? सञ्जय थापाको फोटो चैट!

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाली समाज टेक्सस (एनएसटी) को पेजमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको फोटो प्रतिबन्ध गराइएको छ। यति सम्मकी थापाको फोटो हटाउन कै लागि पोस्ट समेत डिलिट गरिएको छ।
अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेक्सस कन्सुलर अफिस राख्न भन्दै मंगलवार बिहान न्यु योर्कमा ज्ञापन पत्र बुझाइएको थियो।
एनएसटीका प्रवक्ता किरण पौडेलको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री ओलीलाई ज्ञापन बुझाएका थिए। पौडेलले लगत्तै नेपाली समाज टेक्ससको पेजमा फोटो सहित पोस्ट गरेर आफ्नो वालमा सेयर समेत गरेका थिए। तर त्यसको केही क्षणमा नै सो पोस्ट डिलिट गरियो।

त्यस पछि पुन गरिएको पोस्टमा सञ्जय थापालाई क्रप गरिएको छ। रोचक कुरा प्रवक्ता किरण पौडेलको व्यक्तिगत पोस्टमा अहिले पनि सञ्जय थापाको फोटो छ। तर एनएसटीको पेजमा पोस्ट भएको सोही फोटोमा सञ्जय थापालाई क्रप गरिएको छ। क्रप गरिएको फोटोमा थापाको घुडा भने देखिन्छ।


स्रोतका अनुसार प्रधानमन्त्रीको समय मिलाउने विषयलाई लिएर प्रवासी मञ्चका अध्यक्ष थापा र नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले बिचमा भनाभन भएको थियो।
समाज टाइम्सको स्रोत भन्छ थापा र वाग्ले बिचमा त त र म म सम्म हुने गरी भनाभन भएको थियो। त्यस पछि वाग्ले टेक्सस फर्किएका थिए। न्यु योर्क नै रहेका प्रवक्ता पौडेल लगायतले ज्ञापन पत्र बुझाएका थिए।
पोस्ट डिलिट र थापाको फोटो क्रप गरिएको बारेमा बुझ्न खोज्दा अध्यक्ष वाग्ले सम्पर्कमा आउन चाहेनन्। महासचिव विजय भुसालले घटनाबारेमा आफूलाई थाहा नभएको बताए। ‘यो बारेमा अध्यक्ष र प्रवक्तालाई थाहा होला।’ उनले भने।
प्रवक्ता किरण पौडेलले यो समाचारको विषय नभएको बताए। ‘यस्तो पनि समाचार हुन्छ र?’ उनले प्रतिप्रश्न गरे।
मञ्चका अध्यक्ष थापाले भने फोटो हटाउँदैमा आफूलाई फरक नपर्ने प्रतिक्रिया दिए।
‘कसैको योगदान सामाजिक सञ्जालमा फोटो टाँसेर वा नटाँसेर केही फरक पर्दैन, त्यहाँ फोटो छैन भनेर म दुखी छैन सकेको सहयोग भविष्यमा पनि हुन्छ।’ समाज टाइम्स सँग थापाले भने।
प्रवासी नेपाली मञ्च नेकपा एमाले निकटको संस्था हो। वाग्ले पनि एमाले निकट हुन्। उनी नेपाली समाज टेक्ससको अध्यक्षमा दोस्रो कार्यकाल कार्यरत छन्। पछिल्ला समय वाग्लेका हरेक गतिविधि विवादास्पद हुने गरेका छन्।