न्यु योर्कमा देशको प्रधानमन्त्रीलाई सुन्न गएकाहरू खाली कुर्ची हेरेर फर्के
तारा भट्टराई/
न्यु योर्क, अमेरिका/ अमेरिकाको व्यस्त जीवन, त्यसमा पनि न्यु योर्क। त्यसबाट अलिकति समय निकालेर देशको प्रधानमन्रीलाई सुन्न र हेर्न आइतबार साँझ क्विन्सको ज्याक्सनहाईट स्थित ढाका क्लब (गुल्सन टेरेस) पुगेका सयौँ नेपाली निरास भएर फर्किए।
न्यु योर्कको म्यानह्याटनस्थित संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ ६ बजे नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम तय थियो।
प्रधानमन्त्री ओली अमेरिका आउनु अगाडि नै तय भएको कार्यक्रममा इच्छुकलाई साँझ ५.३० बजे नै उपस्थित हुन भनिएको थियो ।
ज्याक्सनहाईट मात्र होइन, न्यु योर्क बाहिर विभिन्न राज्यबाट पनि अमेरिकामा बस्ने नेपाली कार्यक्रमका लागि आएका थिए। घण्टौँ हवाई यात्रा र ड्राइभबाट आएकाहरू पनि गन्तव्य तर्फ लम्कँदै थिए।
सुदूर पश्चिम क्यालिफोर्निया देखि टेक्सस सम्मबाट पनि नेपालीहरू यसै कार्यक्रमका लागि न्यु योर्क आएका थिए।

न्यु योर्क स्थिति नेपाली महाबाणिज्यदूतावास, नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली मञ्च लगायत आयोजक थिए।
आयोजकले दिउसै तीन सय भन्दा बढी कुर्चीहरूको बन्दोबस्त गरिसकेका थिए। ती कुर्चीमा मान्छेहरू बस्न पनि थालिसकेका थिए। त्यस अगाडि सुरक्षाकर्मीले हलको निरीक्षण पनि गरेका थिए।
तर एकाएक माइकबाट सम्बोधन भयो आजको कार्यक्रम स्थगित भयो।

सुरक्षाको कारण देखाउँदै आयोजकले कार्यक्रम स्थगित गर्नु परेको भन्दै माफी माग्दै थिए। त्यस पछि प्रधानमन्रीलाई हेर्न, सेल्फी खिच्न भन्दै आएकाहरू खाली कुर्ची हेर्दै फर्किए ।
आफ्नो कामबाट हस्याङफस्याङ गर्दै आफ्नो देशको प्रधानमन्त्रीलाई भेट्ने, कुरा सुन्ने, प्रश्नहरू गर्ने, भलाकुसारी गरेर तस्बिरहरू खिच्ने सोचले आई पुगेका सहभागीहरू खाली कुर्सीमै प्रधानमन्त्री र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको फोटो अङ्कित ब्यानर अगाडि उभिएर फोटा खिचाएर चित्त बुझाई रहेका भेटिन्थे।
नेपालका प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने र नाराबाजी गर्ने भन्ने सूचना आए पछि सुरक्षा थ्रेट भनिएको थियो।
अमेरिका जस्तो ठाउँमा केही सय नेपाली उपस्थित हुने कार्यक्रममा सुरक्षा थ्रेटको महशुस हुँदै कार्यक्रम रद्द हुँदै गर्दा त्यही शहरको अर्को खचाखच भरिएको विशाल हलमा मित्रराष्ट्र भारतका समकक्षी नरेन्द्र मोदी भने प्रफुल्ल मुद्रामा भारतीय हरूलाई भव्य भोज दिइरहेका थिए।













