कुलमान र उपसभामुखको पछि लाग्दा सुरुमै सरकार असफल : प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले गलत कदम चाल्दा सुरुमा नै असफल भएको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित नेकपा माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपसभामुखलाई हटाउने प्रयासलाई सरकारले गलत निर्णयका रूपमा लिएको बताएका छन्।
उनले भने, “नेपालबाट लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपाल बनाउन महत्त्वपूर्ण काम गर्दै आएका कुलमानलाई अपमान गरेर निकाल्न खोजियो, तर जनताको विरोधपछि सरकार पछि हट्नुपर्यो।”
प्रचण्डले उपसभामुखलाई सामान्य प्राविधिक त्रुटिका आधारमा कानुनी र नैतिक रूपमा हटाउन खोज्नु पनि अस्वीकृत भएको उल्लेख गरे। उनले थपे, “उपसभामुखले महिला र बालबालिकाको क्षेत्रमा प्राप्त गरेको अन्तर्राष्ट्रिय ख्यातिको बेवास्ता गरियो। यो जनतालाई स्वीकार्य थिएन र हामीले अस्वीकार गरेपछि सत्तारुढ दलहरू पछि हटे।”
अध्यक्ष प्रचण्डले वर्तमान सरकारमा भ्रष्टाचारको आरोप लागेका आधा दर्जन व्यक्तिहरू मन्त्री भएको कारण सुशासनमा कमजोरी रहेको बताएका छन्। उनले भ्रष्टाचारविरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याए।