प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्कमा
न्युयोर्क, अमेरिका। संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क आइपुगेका छन्। स्थानीय समय अनुसार शुक्रबार राति जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। उनलाई राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल र अन्य अधिकारीहरूले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीले असोज १० गते महासभामा सम्बोधन गर्ने तालिका रहेको छ। यस पटकको महासभामा “कोही पनि पछाडि नछाडिने” भन्ने उद्देश्यलाई केन्द्रमा राखी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास, र मानव मर्यादाका विषयमा बहस हुनेछ। यो सम्बोधनमा प्रधानमन्त्री ओलीले विशेषगरी नेपालजस्ता अतिकम विकसित देशहरूलाई सशक्त बनाउन अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता बारे जोड दिनेछन्।
साथै, प्रधानमन्त्री ओलीले न्युयोर्कमा रहेका नेपाली संघसंस्थाहरूले आयोजना गर्ने विशेष समारोहलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। यो समारोहमा प्रवासी नेपाली समुदायसँगको अन्तरक्रियाका साथै नेपालको विकास प्रयासहरूबारे उहाँले धारणा राख्नेछन्।
महासभामा भाग लिएका मित्रराष्ट्रका प्रतिनिधि र विकास साझेदारहरूसँग प्रधानमन्त्री ओलीले ‘साइडलाइन’ वार्ताहरू पनि गर्ने कार्यक्रम छ। यस वार्ताका क्रममा द्विपक्षीय र बहुपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ।
सहकारी छानविन समितिको प्रतिवेदन सार्वजनिक, प्रतिवेदनमा के छ?
प्रधानमन्त्री ओलीले सम्मेलनमा अतिकम विकसित देशहरूको अध्यक्षको रूपमा पनि सम्बोधन गर्नुहुनेछ, जहाँ यी देशहरूको चुनौती र सम्भावनाबारे धारणा राखिनेछ। साथै, कोलम्बिया विश्वविद्यालय र हावर्ड विश्वविद्यालयमा उहाँले “नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा” र “नेपालको परिप्रेक्ष्य: सङ्क्रमणकालीन न्यायदेखि जलवायु न्यायसम्म” भन्ने विषयमा महत्वपूर्ण सम्बोधन गर्नेछन्।