बेपत्ता व्यक्ति छानबिन आयोग विधेयक पारित भएकोमा अमेरिका सहित दश मुलुकद्वारा स्वागत
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयक पारित भएकोमा अमेरिका सहित विभिन्न दश मुलुकहरूले स्वागत गरेका हुन्।
लामो समयको रस्सा कस्सी पछि प्रतिनिधि र राष्ट्रिय सभाले विधेयक पारित गरेको थियो। बिहीबार ती दश मुलुकहरूले नेपालमा सङ्क्रमणकालीन न्यायसम्बन्धीमा संयुक्त वक्तव्य निकाल्दै स्वागत गरेका हुन्।
‘नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको हामी निम्नानुसारका हस्ताक्षरकर्ता स्वागत गर्दछौँ ।’ वक्तव्यमा भनिएको छ।
वक्तव्य जारी गर्ने देशहरूमा अमेरिका सहित, स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत,नर्वे, जापान, फिनल्यान्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्स रहेका छन्।
‘नेपाल सरकारले अगाडीको मार्ग पहिल्याउँदै गर्दा, हामी निम्नानुसारका हस्ताक्षरकर्ता पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने छौँ ।’ विज्ञप्तिमा भनिएको छ, ‘निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउनेछ ।’
नेपालका मुख्य मुख्य दाता राष्ट्रका रूपमा रहेकाहरूको संयुक्त वक्तव्यमा आयोगलाई सघाउन आवश्यकताहरू बारे जान्न चाहेको उल्लेख छ।
‘हामी यस प्रक्रियाको प्रारम्भिक चरणमा छौँ । भविष्यमा चाल्नुपर्ने सम्भावित कदमहरूको सम्बन्धमा मूल्याङ्कन गर्न सकियोस् भनी हामी निम्नानुसारका हस्ताक्षरकर्ताहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के-कस्ता विशेष आवश्यकताहरू छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर छौँ ।’ वक्तव्यमा भनिएको छ।
नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पुर्याउन सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बेला आएको समेत वक्तव्यमा उल्लेख छ ।