अमेरिकामा नेपाली नर्स ममता बेपत्ता प्रकरण: पति नरेशलाई अदालतद्वारा धरौटी दिन अस्वीकार

भर्जिनिया, अमेरिका / भर्जिनियाको मानसस अदालतका न्यायाधीशले श्रीमती बेपत्ता बनाएको आरोप लागेका नरेश भट्टलाई धरौटी दिन अस्वीकार गरेको छ।
नरेशलाई धरौटी दिँदा थप जोखिम हुने भन्दै अदालतको सोमबार बिहानको इजलासले धरौटी बिना हिरासतमा राख्न भनेको हो।
मानसस प्रहरीले भट्टलाई उनीकी श्रीमती नर्स ममता भट्ट काफ्लेलाई बेपत्ता बनाएको आरोपमा पक्राउ गरी थुनामा राखेको छ।
ममता अगस्ट एक तारिख देखि बेपत्ता छिन्। ममता हराएको तीन साता पछि स्थानीय प्रहरीले गत बिहीबार ममताका श्रीमान् नरेशलाई घरबाटै पक्राउ गरेको थियो। भट्ट दम्पतीको एक बर्सिया छोरी छिन्।
नरेशलाई शुक्रवार अदालतमा पहिलो पटक हाजिर गराएको थियो। नरेश पक्षका वकिलले नरेशलाई हत्याको आरोप लगाउन पर्याप्त प्रमाण नभएको तर्क गरेका थिए।
अधिकारीहरूले नरेश भट्टलाई ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप लगाएका छन्।
ममता काफ्ले भट्टको घरमा शव तानेको र ठुलो परिमाणमा रगत रहेको प्रमाण प्रहरीले फेला पारेको भनिएको छ। यद्पी प्रहरीले पनि अहिले सम्म ममताको हत्या भएको हो होइन यकिन गर्न सकेको छैन।
सोमबारको इजलासमा एक न्यायाधीशले भने कि नरेश भट्ट समुदायको लागि खतरा हो उनलाई धरौटीमा छोड्नु जोखिम हो।
नरेश भट्टले श्रीमती ममता काफ्ले भट्टको हत्या गरेको र यसलाई ढाकछोप गर्ने प्रयास गरेको आशङ्का गरिँदै आइएको छ।
नरेश अमेरिकी सेना र प्रहरी दुवै तर्फ सेवा गरेका व्यक्ति हुन्। उनी फेयर फ्याक्स कम्पनी पुलिसमा २०२० मा भर्ती भएको तर २२ दिनमा प्रहरी एकेडेमीमा खारेजीमा परेका थिए।
अनुसन्धानकर्ताहरूले भट्टको घर अस्तव्यस्त अवस्थामा फेला पारेको र मुख्यतया प्राथमिक शयन कक्ष र सोही बाथरुममा रगतको प्रमाण रहेको बताएका छन्। रगत ममता भट्टको हो कि होइन भन्ने पुष्टि गर्न उनीहरू अझै पनि परीक्षणको नतिजा आउन पर्खिरहेका छन् ।
ममता भट्ट अन्तिम पटक जुलाई २७ मा युवीए हेल्थ हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको बताइएको छ। उनले जुलाई २८ मा एक साथीसँग फोनमा कुरा गरेको बताइएको छ।
ममताको टिकटक एकाउन्टमा जुलाई २८ मा अन्तिम भिडियो पोस्ट भएको छ। नरेशले ममता हराएको बारेमा ढिलो गरी प्रहरीमा खबर गरेका थिए।
उनले यस अगाडि पनि ममता बेला बेलामा घर छोड्ने गरेको बताउँदै आएका थिए।
अगस्ट २ मा भट्ट परिवारको घरमा मनसास पार्क प्रहरीले सामान्य सोध बुझ गरेको थियो। नरेशले तीन दिनपछि अगस्ट ५ मा ममता भट्ट हराएको जानकारी दिए।
भर्जिनियामा रहेको नेपाली र अन्य समुदायले ममताको खोजीमा दबाब दिएको थियो। अगस्ट २१ मा मनसास पार्क प्रहरीले नरेश भट्टलाई “रुचिको व्यक्ति” नाम दिए। नरेश भट्टलाई श्रीमती बेपत्ता र शव लुकाएको आरोपमा भोलिपल्ट घरबाट हतकडी लगाएर पक्राउ गरिएको थियो।
अभियोजकहरूले नरेश भट्टको बयान बाझिएको बताएका छन्। नरेश भट्टले अधिकारीहरूलाई ममतालाई आफूले अन्तिम पटक जुलाई ३१ मा देखेको बताएका थिए।
शुक्रवारको सुनुवाइको क्रममा नरेशका वकिलले मुद्दालाई ‘मिडिया उन्माद’ भनेका थिए। वकिलले कुनै वास्तविक प्रमाण नभएको दाबी गरेका थिए। वकिलले नरेश भट्टलाई रिहा गर्न आग्रह गरेका थिए। तर सोमबार बिहानको सुनुवाईमा न्यायाधीशले उनलाई बिना धरौटी थुनामा राख्न आदेश दिए।
अब अर्को सुनुवाइ अक्टोबर २४ तारिख हुने छ।