छाडा र विकृत बन्दै तीजका गीतहरू : समाधान के ?
तीज आउन एक महिना बाँकी भए पनि तीजका गीतहरू बजारमा आइसके। पार्टीहलहरू देखि घरघरमा दिदीबहिनीहरूको चहलपहल सुरु भइसक्यो। प्रत्यक्ष गाउने चलन हराएर युट्युबमा राखिएका गीत बजाउने र त्यसैमा नै नाच्ने चलन बढेको छ। कहीँ कतै प्रतियोगिताको नाममा प्रत्यक्ष गीत गाइए पनि अहिलेको समग्र गीत बजार युट्युब र सामाजिक सञ्जालहरूले चलेको छ।
तीज एक सांस्कृतिक चाड हो। यसमा पार्वतीले महादेव पति पाउँ भनेर व्रत बसेर त्यसकै फलस्वरूप महादेव पाएको विश्वास स्वरूप यो चाड मनाउन थालिएको मानिन्छ। विवाहित महिलाहरूले पनि आफ्ना पतिको चिरायुको कामना गर्दै व्रत बस्ने चलन छ। यो नेपाल र भारतका विभिन्न ठाउँहरूमा आफ्नै तरिकाले मनाउने गरिन्छ।
यो चाड खाली नाच्ने र गाउने कुरासँग सम्बन्धित छैन। यसले धर्म, संस्कृति र परम्परालाई पनि आत्मसात् गरेको छ। नेपाली विवाहित महिलाहरू तीजमा माइत जसरी पनि जाने चलन छ। घरमा भएका पिर व्यथाहरू गीत मार्फत आफ्ना माइतीलाई सुनाउने, आफ्ना पुराना साथीहरूसँग गाउँदै नाच्दै रमाइलो गर्ने परम्परा छ। यसले माइतीसँगको सम्बन्ध सुमधुर हुने, घरका गुनासा सुनाउने मौका समेत दिन्छ। भेटघाट र नाचगानले एक वर्षको लागि महिलाहरूलाई ऊर्जा प्राप्त पनि हुने गर्दछ। यसका बहु आयामिक महत्वहरू छन्।
तीजका गीतहरूमा विकृति
आफ्ना दुखसुख व्यक्त गर्ने गीतहरू युट्युब मार्फत संसारभर फैलिए पछि गीतहरूले लिक छोड्न थालेका छन्। मनोरञ्जन गर्न फरक शैली अपनाउनु वा परिवेशको परिवर्तन सँगै गीतका विषयवस्तु फेरिनु सामान्य भए पनि यति बेला तीजका गीतहरूमा छाडा, दुइअर्थि शब्दहरूको व्यापक प्रयोग हुन थालेको छ। युट्युबमा केही भ्युज बढाउन, केही पैसा कमाउन र चर्चित हुन संस्कृति माथि हमला सुरु गरिएको छ। लोकगीत विकृत पारे पछि अहिले यी व्यक्तिहरूको ध्यान तीज र अन्य सांस्कृतिक पर्वहरूमा गाइने गीतहरूमा गएको देखिन्छ।
संसारको कुनै पनि ठाउँमा आफ्नो सांस्कृतिक पर्वहरूको दुरुपयोग गरेर आफ्नो क्षणिक हितको लागि विकृत बनाइँदैन। तर नेपालमा भने नाम मात्रको संस्कृति मन्त्रालय र नियामक संस्थाहरूको अकर्मण्यताले तीजका गीत सुन्न नसकिने गरी विकृत पारिएको छ। स्वतन्त्रताको दुरुपयोग गर्दै स्वच्छन्दता फैलाइएको छ। यो कहिले सकिन्छ, कुनै टुङ्गो छैन।
केही वर्ष अघि “के हुन्छ होला है बिहेको राती” भन्ने गीतमा पेटिकोट लगाएर नाचेको भिडियो सार्वजनिक भयो। त्यो गीत जति भद्दा भए पनि समाज पचाउन बाध्य भयो। गायिका र नाच्नेहरू पुरस्कृत नै भए। बिक्री हुन्छ भने जे पनि बेचिन्छ भन्ने उनीहरूको तर्क रह्यो। छाडा, भद्दा र विकृत गीतहरूको शृङ्खला रोकिएन। तीजको गीतमा भने “पोइल जान पाम” भन्ने गीतबाट कोमल वलीले विकृतिको सुरुवात गरेकी हुन्।
अघिल्ला वर्षहरूमा पनि दुइअर्थि गीतहरू बनाएर चाडलाई विकृत बनाउने काम भएकै थियो। तर वर्ष भने यो कर्तुतले सीमा नाघेको छ। धर्म, संस्कार र संस्कृति समाजले गर्व गर्ने कुराहरू हुन्। तीनलाई कसैलाई पैसा कमाउन, कसैलाई चर्चित हुन दुरुपयोग गर्न पाइन्न। कलाकारले त्यस्ता कुराहरूलाई आफ्नो संस्कारको रूपमा लिएर व्यवहार गर्नु पर्छ।
“बिहे अघि त दिन्न बरिलै” भन्ने सम्मको विकृत गीत बनाइयो र नाम चलेकी गायिकाले गाइन र अर्की उरन्ठेउली नाचिन। भद्दा शब्द र अश्लील प्रस्तुतिले यो गीत गन्हायो। यसले युट्युब र सामाजिक सञ्जाल गन्हाउने बनायो। हाम्रो संस्कृति माथि यसले निर्मम हमला गर्यो। छाडा र विकृत मानसिकताका टिकटक प्रयोगकर्ताहरूलाई यस्ता तीजका गीतहरूले “कन्टेन्ट” उपलब्ध गराए।
तीजका गीत माइतीघरमा माइतीहरूसँगै बसेर गाउने गीत हुन्। तर अहिलेका तीज गीतहरू सुन्न हेडसेट लाउने पर्ने वा एक्लै ढोका थुनेर सुन्न पर्ने अवस्था छ। तीजका गीत सुन्न र हेर्न अब लाज मान्नु पर्ने अवस्था आएको छ। यस्तै गीतहरूमा छाडा र अश्लील नृत्य गर्ने होडबाजी चलेको छ। तीजका कार्यक्रम हेर्न जान पनि लाजमर्दो हुन पुगेको छ।
समाधान के होला ?
हरेक कुरामा आचारसंहिता लगाउन सकिन्न। आधारभूत मानवीय कुराहरू हरेक मान्छेले जान्नु पर्छ। कला प्रस्तुत गर्दा समाज, संस्कार र परिवेश थाहा पाउनु पर्छ भन्ने कुरा सामान्य नै हो। यति पनि सीमा थाहा नपाउने मान्छे कलाकार हुन सक्दैन। त्यसमाथि समाजमा विकृति फैलाउने सामग्री प्रस्तुत गर्नु सभ्य समाजमा सुहाउने कुरा होइन। झन् संस्कृति र संस्कार सँग जोडिएका विषयहरूमा मनपरी गर्न पाइन्न।
पहिलो समाधान भनेको कलाकार सचेत हुने नै हो। दोस्रो कानुन बमोजिमको कारबाही हो। तेस्रो भनेको आम श्रोता दर्शकहरू नै हुन्। “जे बिक्छ त्यही बेचिन्छ” भन्नेहरूलाई दर्शकले जवाफ दिनुपर्छ। यी गीत नहेरेर, यस्ता गीत लेख्ने, गाउने र अभिनय गर्नेहरूलाई सबक सिकाउन आवश्यक हुन्छ। जति छाडा गीत गायो, त्यति माग बढ्ने र सम्मान बढ्ने भए पछि उनीहरू यसमा झन् उत्साहित हुन्छन्। यस्तालाई तह लगाउने तरिका भनेकै आलोचना गर्ने, सजग गराउने र प्रश्रय नदिने नै हो।
त्यसैले यस्तो उत्ताउला, छाडा, विकृत गीतमा भूमिका खेल्नेहरूलाई समय मै सचेत बनाउन जरुरी छ। यदि यसलाई नरोक्ने हो भने अर्को वर्ष देखि तीजका गीतहरूको मात्र होइन तीज नै बदनाम हुनसक्छ। समयमै चेतना होस्।
अस्तु : लेखनाथ गौतम।