अमेरिकाको ग्यास स्टेसनमा मारिए नेपाली युवा

नारायण भण्डारी
टेक्सस,अमेरिका/ अमेरिकाको टेक्ससमा लुटेराको गोली लागि एक नेपाली युवाको निधन भएको छ। टेक्ससको वेको स्थित हाइवे ३५ एक्जिट ३४६ मा रहेको एक ग्यास स्टोरमा काम गर्ने दीपक वलीको निधन भएको हो।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका बोर्ड सदस्य मोहन कुसारीका अनुसार निधन हुने युवा रुकुम वाँठीकोट गाउँपालिका बडा नम्बर १० झुला गाउँका हुन् ।
‘उनी मेरो फुपूका छोरा हुन्, तीन महिना मात्र भयो सो स्टोरमा काम गर्न लागेको आज बिहान दुखद घटना भयो।’समाज टाइम्स सँग कुसारीले भने। कुसारीका अनुसार घटना आइतबार बिहानको हो।
‘प्रहरीले हामीलाई दिएको जानकारी अनुसार बिहान पाँच बजे तिर गोली लागेको र ६ बजे मात्र स्टोरमा आएका ग्राहकले देखेर पुलिसलाई खबर गरेका रहेछन्।’ कुसारीले भने,’लास स्टोर बाहिर भेटिएको रहेछ, सायद उनी गोली लागेर पछि भाग्दा भाग्दै ढलेको हुनु पर्छ भन्ने छ।’
‘प्रहरीले हामीलाई भिडियो सोझै हेर्न दिएको छैन, उनीहरूले बताए अनुसार दीपकले लुटेरा सँग प्रतिवाद गरेको देखिँदैन भनेर पुलिसले भनेको छ।’कुसारीले भने, ‘गोली कोखामा लागेको भन्ने प्रहरीको भनाई छ।’
प्रहरीले दीपक माथि गोली प्रहार हुनु अगाडि नजिकै रहेको अर्को स्टोरमा पनि लुटपाट भएको जानकारी दिएको पनि कुसारीले बताए।
३० वर्षीय वली एक वर्ष अगाडि मात्र स्थल मार्ग (तल्लो बाटो) हुँदै अमेरिका आएको र कागजी प्रक्रियामा नै रहेको कुसारीले जानकारी दिए।
वलीका सबै परिवार नेपालमा नै छन्। पाँच वर्षीय छोरीका बुवा वलीका बाबु आमा, श्रीमती एक भाइ र एक बहिनी नेपालमा छन्।