समाजवादी मोर्चाले भन्यो ‘कांग्रेस-एमाले’ गठबन्धन पश्चगमनको यात्रामा
काठमाडौं । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला कोमामा पुगेकाे समाजवादी मोर्चा अहिले सत्ताबाट बाहिर भएपछि ब्युँतिएको छ ।
सत्तामा रहेको माओवादी र एकीकृत समाजवादीका नेताहरुले वास्तै गर्न छाडेका थिए । तर, असार १७ गतको नयाँ सत्ता समिकरणको सहमति पछि प्रचण्ड प्रधानमन्त्रीबाट विदा भएपछि भने विपक्षी मोर्चामा आफूलाई बलियो देखाउनका लागि फेरि समाजवादी मोर्चाले राजनीतिक गतिविध सुरु गरेको हो । मोर्चाको संयोजक नेत्र विक्रम चन्द विप्लब रहेका छन् ।
नेकपा एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा मंगलबार बसेको मोर्चाको बैठकले आफ्ना आगामी रणनीति तय गर्न चार सदस्यीय कार्यदल बनाएको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
कार्यदलमा माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, नेकपाबाट विश्वकर्मा र नेसपाबाट गंगानारायण श्रेष्ठ रहेका छन् ।
कार्यदलले आगामी कार्यक्रमलगायतको खाका तयार गरेर १५ दिनभित्र आफ्नो प्रतिवेदन मोर्चामा बुझाउने छ ।
आजको बैठकले कांग्रेस–एमालेको गठबन्धनलाई पश्चगमनको यात्रा भएको निष्कर्ष निकालेको विश्वकर्माले बताएका छन् ।