राष्ट्रिय परिचय पत्र तत्काल लागू नहुने
काठमाडौं । सरकारले तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भारी वर्षाका कारण राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि लागू नगर्ने गरी पहल गर्न निर्देशन दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
उनले भनिन्, ‘सामाजिक सुरक्षा सम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय भएकोमा मुलुकका विभिन्न स्थानहरूमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।’ सरकारले बजेटमार्फत सामाजिक सुरक्षा भत्ता लगायतका कुराहरु कार्यान्वयन गर्नका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने उल्लेख गरेको थियो ।
यस्तै, उनले बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ पूरक आदेश जारी गर्ने निर्णय गरेको पनि गरेको बताइन् ।
उनले भनिन्, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ पूरक आदेश जारी गरी सोको सूचना राजपत्रमा प्रकाशन गर्ने,’
यसको साथै, उनले स्थानीय तह, राजस्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका २०८१ स्वीकृति गर्ने र सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय पनि भएको जानकारी दिएकी छन् ।
बैठकले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णय समेत गरेको छ ।