यूएस राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा हिमालयन तेक्वान्दो ह्यारिबर्गलाई एक रजत सहित चार पदक

ह्यारिसबर्ग/ अमेरिकाको टेक्सस राज्यमा सम्पन्न युएस राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा हिमालयन तेक्वान्दो ह्यारिसबर्गले एक रजत सहित चार पदक जितेको छ।
हिमालयन तेक्वान्दो पेन्सिल्भेनियामा नेपाली भाषी भुटानी समुदायबाट स्थापित पहिलो स्कुल हो।
टेक्ससको फोर्ट वर्थमा जुलाई चार देखि सात तारिख सम्म भएको च्याम्पियनसिपमा हिमालयन तेक्वान्दोका इसायस जिमिनेजले रजत पदक जिते। उनले ग्रीन बेल्ट क्याडेट (लाइट) मा रजत जितेका हुन्।
सुवर्ण शर्माले क्याडेटमा कास्य पदक जितिन्।
यस्तै सुसान मगरले डिभिजन क्याडेट रेड बेल्ट (जुनियर ब्यान्टम) ले कांस्य पदक जिते। यसै गरी मिलानी जुडले पनि कांस्य पदक जितिन्। उनले टाइगरेड बेल्ट (हेभी) मा प्रतिस्पर्धा गरेकी थिइन्।

हिमालयन तेक्वान्दोबाट शायुस मिश्र, सुजल मगर र त्रिशा मिश्रले पनि यूएस तेक्वान्दोमा सहभागिता जनाएका थिए।
हिमालयन तेक्वान्दोका सञ्चालन तथा मुख्य प्रशिक्षक नकुल शर्माले खेलाडीको प्रदर्शनबाट आफू खुसी भएको बताए।

‘राष्ट्रिय च्याम्पियनसिपमा यो हाम्रो पहिलो सहभागिता हो, खेलाडीको प्रदर्शन र उनीहरूको सफलताबाट हामी खुसी छौ।’ समाज टाइम्स सँग शर्माले भने,’ झन्डै तीन हजार खेलाडीले भाग लिएको प्रतियोगितामा पहिलो सहभागितामा पदक जित्नु चानचुने कुरा होइन।’
‘हामी सबै उत्साहित छौ।’ प्रमुख प्रशिक्षक शर्माले भने।
