वुडल्यान नेप्रिकनले जित्यो ‘तेस्रो बाना कप’,लमजुङ उपविजेता
मेरिल्यान्ड,बाल्टिमोर/ तेस्रो बाना कप फुटबलको उपाधि वुडल्यान नेप्रिकले जितेको छ। अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा आइतबार साँझ भएको फाइनलमा लमजुङ सोसाइटी एफसीलाई ४-१ गोल अन्तरले हराउँदै वुडल्यानले उपाधि जितेको हो।
त्यसो त हारबाट प्रतियोगिताको सुरुवात गरेको वुडल्यानले आफूलाई सम्हाल्दै च्याम्पियन बन्न सफल भयो। दुई दिने प्रतियोगिताको पहिलो दिन शनिवारको पहिलो खेलमा वुडल्यान पेरीहलको हिमालयन युनाइटेड एफसी एक शून्यले पराजित भएको थियो।
अमेरिकाको उखरमौलो गर्मीमा हरियो जर्सीमा मैदानमा उत्रिएको वुडल्यान्डले दोस्रो खेल पछि लय समातेको हो।
बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) द्वारा आयोजित प्रतियोगितामा स्थानीय दश टिमले भाग लिएका थिए। सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लागि कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा समूह चरणको दोस्रो खेलमा वुडल्यानले मेरिल्यान्ड स्पार्टन्सलाई ३-१ गोल अन्तरले हराएको थियो। त्यस पछि गोर्खाली एफसी र हार्डफोर्ड युनाइटेड ब्वाइज एफसीको तगारो पन्छाउँदै समूह उप विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरेको थियो।
आइतबार दिउसो भएको सेमिफाइनलमा वुडल्यानले सुदूरपश्चिमलाई एक शून्यले हराउँदै उपाधि नजिक स्थान बनाएको थियो।
अर्को सेमिफाइनलमा लमजुङले हिमालयन युनाइटेडको चुनौती कठिन रूपमा पार गरेको थियो। निर्धारित समय दुई दुई गोलको बराबरी भए पछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा दुवै टिमका ४-४ प्रहार गोलमा परिणत हुँदा खेल सडेनडेथमा पुग्यो। सडेनडेथमा लमजुङका प्रणिल गुरुङको प्रहार गोलमा परिणत भयो।
समूह चरणमा वुडल्यानलाई हराएको हिमालयन युनाइटेडलाई सेमिफाइनलमा रोकेर हौसिएको लमजुङ फाइनलमा भने सुरु देखि नै कमजोर देखियो।
फाइनल खेल सोचे अनुसार प्रतिस्पर्धात्मक हुन सकेन। वुडल्यानका गोलरक्षक खेलभर प्रायशः फुर्सदिला देखिए । खेलको अधिकांश समय बल लमजुङकै फिल्डमा रहेको थियो।
विनीत सैंजुले फाइनल खेलमा गोलको श्रीगणेश गरे। त्यस पछि दिवेश भण्डारीले वुडल्यानको अग्रता दुगुना बनाए। टिम गेम खेलेको वुडल्यान त्यतिमा रोकिएन। सक्षम काफ्लेले पनि थप दुई गोल गरे। खेलको अन्ततिर लमजुङका निकेश कुँवरले एक गोल फर्काए पनि टिमलाई प्रतियोगितामा पहिलो हारबाट जोगाउन सकेनन्। लमजुङ पहिलो हार सँगै उप विजेतामा सीमित भयो।
‘काममा छुट्टी नपाउँदा हाम्रा मुख्य दुई खेलाडी आज उपस्थित हुन सकेनन् त्यसले हामीलाई ठुलो मार पर्यो।’ खेल पछि लमजुङका कप्तान अनिल कुँवरले समाज टाइम्स सँग भने,’हाम्रा पहिलो रोजाइका गोलरक्षक पनि महत्वपूर्ण समयमा हामी सँग रहेनन्।’
वुडल्यान नेप्रिकनका कप्तान शङ्कर गुरुङले कडा मेहनतले आफूहरू सफल भएको बताए।
‘यो प्रतियोगिताका लागि हामीले अप्रिल देखी नै तयारी सुरु गरेका थियौ।’ वुडल्यान नेप्रिकनका कप्तान गुरुङले समाज टाइम्स सँग भने, ‘कडा मेहनतकै कारण जित्यौ, उनीहरू (लमजुङ) पनि राम्रै टिम हो गेममा हामी बेटर भयौ।’
कप्तान गुरुङका अनुसार वुडल्यान नेप्रिकन यसै वर्ष स्थापना भएको हो। बाल्टिमोरको वुडल्यानमा बसोबास गर्ने नेपालीहरूको क्लब हो। ‘वुडल्यानमा बस्ने नेपाली अमेरिकनहरूको क्लब बनाएका हौ वुडल्यान नेप्रिकन’ कप्तान गुरुङले भने,’नयाँ पुराना खेलाडी खोजेर टिम बनाएका हौ।’
‘हामीले कुनै पनि प्रतियोगिता खेलेको यो पहिलो अवसर हो र पहिलो पटक नै उपाधि जित्न सफल भयौ, अब हामी अन्य राज्यमा पनि प्रतियोगिता खेल्न जाने भन्नेमा छौ।’
तेस्रो बाना कप सँगै वुडल्यानले ३५ सय ५५ अमेरिकी डलर नगद र मेडल प्राप्त गर्यो। उप विजेतामा रोकिएको लमजुङले १५ सय ५५ अमेरिकी डलर र मेडल पायो।
प्रतियोगितामा वुडल्यान्डका नितिश घिमिरे उत्कृष्ट गोलरक्षक घोषित भए । हाइस्कोरर सुदूर पश्चिमका सञ्जीव प्रधान भए। उनले प्रतियोगिताभर नौ गोल गरेका थिए। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी लमजुङका रेकिश कुँवर घोषित भए।
प्रतियोगिताका विजेता तथा उप विजेता टिमका खेलाडीलाई अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, बानाका अध्यक्ष सुबोध विलास पन्त लगायतले पुरस्कार वितरण गरेका थिए।
फाइनल खेल भिडियो
प्रतियोगिताको फाइनल खेल अगाडि भएको अमेरिका स्थित नेपाली दूतावास र बाना बिचको मैत्री फुटबल खेलमा बाना विजयी भयो। बानाले दूतावास टिमलाई दुई शून्य हराएको थियो। खेलमा दुबै गोल दमन विक्रम शाहले गरेका थिए।