अमेरिकामा अंग्रेजी भाषा प्रौढ कक्षा बाट १६ जना दीक्षित

बाल्टिमोर मेरिल्यान्ड/ काठमाडौँ जडीबुटीकी ६५ वर्षीय श्रीकुमारी कटुवाललाई पहिलो पटक अमेरिका आउँदा चकमन्न थियो।
औपचारिक शिक्षा नलिए पनि उनले नेपालमा घर-भान्छा चलाउँथिन्। तर अमेरिकामा त्यो पनि नहुने भयो। न भान्छामा मेसो छ न त बाटोमा हिँड्दा नै। कहाँ आइयो कहाँ। छोरा बुहारी काममा गए पछि उनलाई झन् गाह्रो हुने। अन्धकारमा बसे जस्तै।
एक पटक त उनी लिफ्टमा पनि अलमलमा परेकी थिइन्। तर अब भने उनको आत्मबल बढेको छ। नेपालमा स्कुल समेत नटेकेकी कटुवालले अहिले अमेरिकामा अंग्रेजीका केही शब्द बुझ्ने भएकी छिन्।
नमस्कार, माई नेम इज ‘श्रीकुमारी कटुवाल’ उनी यति भन्न सक्ने भएकी छिन्।
कसैले ‘हाउ आर यु’ भनेर सोध्यो भने ‘आइएम फाइन’ भन्न जानेकी छिन्। ‘बुढेसकाल भए पछि झन् जान्नु पर्ने रहेछ।’ ठट्टा गर्दै उनी भन्छिन्,’ल्याङ्गेज पढे।’ उनले लेफ्ट भनेको बायाँ र राइट भनेको दायाँ भन्ने पनि बुझेकी छिन्। त्यसले उनलाई बाटो हिँड्दा सजिलो हुने अपेक्षा छ।
‘पहिलो पटक अमेरिका आउँदा लिफ्ट थिच्न आउँदैन थियो, अब वान टु थ्री फोर भनेर चिन्ने भएको छु।’ उत्साहित हुँदै उनी भन्छिन्।
श्रीकुमारी जस्तै एक दर्जन बढी जेष्ठ नागरिकहरूको अमेरिकामा आत्मविश्वास बढाउने काम ‘साथी बाल्टिमोर’ र गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत युवा तथा खेलकुद विभागले गरेको हो।
साथी बाल्टिमोर र एनआरएनले अमेरिकामा अंग्रेजी भाषा प्रौढ कक्षा सञ्चालन गरेको थियो। हप्ताको एक दिन शनिवार दश हप्ता सम्म कक्षा सञ्चालन गरिएको थियो। कक्षामा १६ जना विद्यार्थी थिए। उनीहरूको जुन ७ तारिख आइतबार पहिलो दीक्षान्त समारोह भयो। सजना ढुङ्गाना र प्रेम सुवेदीले प्रौढलाई अंग्रेजी भाषा पढाएका थिए।
तितो सत्य र हिजो आजका कुराकी चर्चित कलाकार राधा लम्साल पनि १६ जना विद्यार्थी मध्येकी एक थिइन्।
‘बोल्दा मलाई गाह्रो थियो, त्यसमा मलाई फाइदा भयो’ दीक्षान्त समारोहमा लम्सालले भनिन्। उनले साथी बाल्टिमोरलाई यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन्।
दीक्षान्त समारोहमा प्रमुख अतिथि बनेका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले पनि जेष्ठ नागरिकहरूले अंग्रेजी बोलेको सुनेर आफू उत्साहित भएको बताए।
‘महिनाको एक दिन मनोरञ्जन दिन म पनि आउँछु, यो कार्यक्रमलाई निरन्तरता दिनु होला।’ चर्चित लोक गायक समेत रहेका महतले भने।
दीक्षान्त भएकाहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो। एनआरएनए अमेरिकाका डा. अर्जुन बन्जाडेले आफूहरूले स्थानीय संघ संस्था सँग समन्वय गर्दै कार्यक्रम आयोजना गर्ने गरेको बताए।
मेरिल्यान्ड राज्य सांसद डा. ह्यरी भण्डारीले अब ठुलो ठाउँमा अंग्रेजी प्रौढ कक्षा सञ्चालन हुने पर्नेमा जोड दिए। यस्तै अर्का डेलिगेट काल ज्याक्सनले प्रौढ कक्षाले आफू खुसी भएको धारणा राखे।
बानाकी वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारतीले कक्षा सञ्चालन गरेकोमा धन्यवाद दिइन्।
साथी बाल्टिमोरका पूर्व अध्यक्ष तथा अंग्रेजी भाषा कक्षा सञ्चालनका संयोजक रमेश भट्ट, एनआरएनए अमेरिकाका युवा उपाध्यक्ष, युवा विद्यार्थी तथा खेलकुद कमिटीका प्रमुख तथा अंग्रेजी भाषा कक्षा सञ्चालनका संयोजक अनुप खनालले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिनुका साथै भविष्यमा पनि फेरि यस्तो कक्षाहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।
साथी बाल्टिमोरका बोर्ड अफ डाइरेक्टर प्रवीन भण्डारीले पनि कार्यक्रमको बारेमा प्रस्टाएका थिए। यसै गरि एनआरएनए अमेरिका मिडिया संयोजक सतिश चापागाईले पनि आफ्नो धारणा राखेका थिए।
साथी बाल्टिमोरका अध्यक्ष प्रवीन खड्काले अंग्रेजी प्रौढ कक्षा अन्त नभएर सुरुवात भएको बताए।
‘यो कार्यक्रम हाम्रा लागि सिकाइ पनि हो र कन्फिडेन्स पनि, काम गर्दा कहाँ कहाँ कमजोरी भए भन्ने हामीलाई थाहा छ अब अझ राम्रो गर्ने छौ।’
साथी बाल्टिमोरका महासचिव विकि थापाले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए अमेरिका मेरिल्यान्ड च्याप्टर अध्यक्ष कुल गुरुङ लगायतको उपस्थिति रहेको थियो।
अंग्रेजी प्रौढ कक्षा सञ्चालनमा स्वयम सेवा गर्ने केन्नी शाह, ऐन्जल सुनार, तुलसी अल्गाई, रेर्सस क्याफे, प्रेम सुवेदी, सजना ढुङ्गाना, स्वस्तिका अल्गाई, सचिना पौडेल सदर पत्र प्रदान गरिएको थियो।