दिल्लीका मुख्यमन्त्री केजरीवाल जमानतमा रिहा गर्ने आदेश रद्द
काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको आशामा तुषारापात भएको छ । दिल्ली उच्च अदालतले जिल्ला अदालतको आदेशबमोजिम तिहाड जेलबाट जमानतमा रिहा हुन पाउने आशा गरेका थिए । तर उच्च अदालतले मंगलबार केजरीवालाई जमानतमा रिहा गर्ने राउज एवेन्यु जिल्ला अदालतको आदेशलाई रद्द गरिदिएको हो । मदिरा घोटाला प्रकरणमा पक्राउ परेका केजरीवाल अहिले तिहाड जेलमा छन् ।
जिल्ला अदालतले गत बिहीबार केजरीवाललाई एक लाख धरौटी लिएर रिहा गर्न आदेश दिएकामा त्यसको भोलिपल्टै ईडीले उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेको थियो । लगत्तै उच्च अदालतले तत्कालका लागि आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकामा आज यसमाथि अन्तिम फैसला सुनाएको हो ।
न्यायाधीश सुधीरकुमार जैनको इजलासले आफ्नो निर्णयमा तल्लो अदालतले केजरीवाललाई जमानत दिँदा विवेकको प्रयोग नगरेको र सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पीएमएलए) को धारा ४५ को प्रावधान र ईडीले प्रस्तुत गरेको दस्ताबेजमाथि ध्यान नपुर्याएको उल्लेख गरेको छ ।
उच्च अदालतले गत शुक्रबार जमानतमा रिहा गर्ने जिल्ला अदालतको आदेशमा रोक लगाएपछि केजरीवालले त्यसविरुद्ध सोमबार सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । हिजो भएको सुनुवाइका क्रममा सर्वोच्चले केजरीवालाई तत्काल राहत दिन अस्वीकार गर्दै उच्च अदालतको अन्तिम निर्णय आएपछि मात्रै त्यसमाथि आफ्नो निर्णय दिने बताएको थियो ।
अब सर्वोच्च अदालतले बुधबार केजरीवाललाई जमानतमा रिहा गर्ने जिल्ला अदालतको आदेश ठीक भए / नभएको बारे अन्तिम निर्णय दिनेछ ।