अमेरिकाको प्रमुख बन्दरगाह ११ हप्तापछि सञ्चालनमा
पेन्सिल्भेनिया । अमेरिकाको प्रमुख बन्दरगाह बाल्टिमोरको फ्रान्सिस स्कट ब्रिज ११ हप्ता पछि खुला भएको छ ।
उक्त बन्दरगाहमा रहेको पुल कार्गो जहाज ठोक्किएपछि भत्किएको थियो । त्यसपछि बन्द रहेको रुट ११ हप्तापछि सञ्चालनमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मार्च २६, २०२४ मा पाटाप्सको नदीमा कार्गो जहाज डालीसँग ठोक्किएपछि २.६ किलोमिटर लामो पुल भत्किएको थियो ।
त्यतिबेला जहाजमा उपस्थित चालक दलमा २० भारतीय र एक श्रीलंकाली नागरिक थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले बाल्टिमोर बन्दरगाह पुनः खोल्नका लागि अधिकारीहरूलाई चौबीसै घण्टा काम गर्न निर्देशन दिएको बताएका छन् ।
वास्तवमा, बाल्टिमोर अमेरिकाको प्रमुख बन्दरगाहहरू मध्ये एक हो । यहाँ काम गर्नेलाई धन्यवाद दिँदै बाइडेनले अब यो रुट सबै प्रकारका कार्गो जहाजका लागि खुला गरिएको बताए ।
बाल्टिमोरस्थित सेज पोलिसी ग्रुपका अर्थशास्त्री अनिर्बान बसुले मार्च २६ मा पुल भत्किएपछि बाल्टिमोर क्षेत्रको अर्थतन्त्रले करिब १.२ बिलियन अमेरिकी डलर गुमाएको बताउँछन् । मेरील्याण्ड सरकारको आधिकारिक वेबसाइटका अनुसार सन् २०२३ मा बाल्टिमोरको बन्दरगाह अटोमोबाइल, हल्का ट्रक, कृषि र निर्माण मेसिनरीको आयात–निर्यातमा पहिलो स्थानमा थियो ।