राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमणमा जादैं
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड भ्रमणमा जाने भएका छन् । जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन्।
आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमणलाई स्वीकृति दिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
उनका अनुसार राष्ट्रपति पौडेल उतैबाट जर्मनी पुग्नेछन्। उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
२०८१ जेठ १७ गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु
१. नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री खेमराज ज्ञवाली, श्री यमबहादुर बुढा मगर र श्री भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायवमहान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गर्ने ।
२. सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मिति २०८१ जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सोपश्चात संघीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।
३. वन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।
४. तिलगङ्गा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृत दिने ।