सिरोहिया प्रक्राउ प्रकरणमा मह जोडीले किन माग्यो माफी?
काठमाडौं । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले अदालतमा विचाराधीन मुद्दामा बोलेर आफूहरुले गल्ती गरेको भन्दै माफी मागेका छन् । जेठ ८ गते नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयतर्फ इंगित गर्दै मह जोडीले उक्त अभिव्यक्ती दिनु त्रुटी भएको उल्लेख गरेका हुन् ।
कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट सामाजिक सञ्जाल फेसबुकमार्फत ‘अहिले उठिरहेको समसामयिक विषयमा हाम्रो राय’ शीर्षकमा एक भिडियो सार्वजनिक गर्दै उनीहरुले अदालतमा विचाराधीन विषयमा बोल्नु त्रुटी भएको स्वीकार गरेका छन् ।
उनीहरुले कार्यक्रमको दौडधुपका क्रममा एक्कासि सोधिएका प्रश्नमा विषयलाई राम्रोसँग बुझ्न नपाई अभिव्यक्ति दिँदा गल्ती हुन गएकाले यसप्रति माफी दिन आग्रह गरेका छन् ।
श्रेष्ठले भने– ‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ, एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अकमकियौँ ।’ आचार्यले भने, अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो’, हामीबाट त्रुटि भयो ।’
जेठ ८ गते कान्तिपुर टेलिभिजनले सोधेको जिज्ञासामा मह जोडीले सिरोहियालाई पक्राउ गरेर सरकारले गलत गरेको बताएका थिए ।
कान्तिपुर टिभीसँग कुरा गर्दै हरिवंश आचार्यले नेपालमा लोकतन्त्र ल्याउन कान्तिपुर र सिरोहियाले भूमिका खेलेको बताएका थिए । उनले भने थिए, ‘२०४६ सालदेखि ०६२ सालसम्म जुन–जुन मुभमेन्टहरु भए, त्योबेलामा कान्तिपुर पब्लिकेसन्स, विशेष गरी कैलाश सिरोहियाजीहरु र हामी सँगसँगै बसेर अभियानमा लागेको हो । अहिलेको ओपन परिस्थितिको वातावरण सिर्जना नेपालको प्रेस जगतले पनि गरेको हो । त्यसमा कैलाशजी र कान्तिपुर मिडियाको ठूलो भूमिका छ ।’ ‘अब यो अदालतको कुरा भयो । अदालतमा यो केस पुगिसक्यो । मलाई जहाँसम्म लाग्छ, अदालतले निर्दोष साबित गर्छ होला र उहाँको रिहाइ हुन्छ ।’
यस्तै, मदनकृष्णले सिरोहियालाई पक्राउ गरिएकोमा दुःख पनि व्यक्त गरेका थिए । उनले ‘कैलाश सिरोयिहाजस्तो व्यक्तिलाई यस्तो पर्यो । सुन्दाखेरि पनि मज्जा लाग्दैन । सञ्चार क्षेत्रमा यो नमिठो अवस्था आयो । रामायणमा रामले लक्ष्मणलाई राजनीति भनेको के हो भनेर सोध्दा रावणसँग गएर सोध भन्छ । राजनीतिमा साम, दाम, दण्ड, भेद हुन्छ । तर रविजीको तरिका ठिक भएन । मुद्दा अदालतमा गएको छ । अदालते फैसला राम्रै गर्ला ।’ चौतर्फी आलोचना भएपछि मह जोडीले आफूहरुलाई माफी दिन आग्रह गरेका हुन् ।