पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचार ग्राममा तालाबन्दी गरिएको छ ।
महासंघका केन्द्रीय समितिका सदस्यहरूले आगामी जेठ २६ हुने निर्वाचनको पूर्वसन्ध्यामा सदस्यताको विषयलाई लिएर नेपाल पत्रकार महासंघका अध्यक्ष, महासचिव, पदाधिकारीहरु र निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
विधान मिचेर अध्यक्ष, महासचिवसहितका पदाधिकारीले केन्द्रीय समिति, संगठन समिति र शुद्धीकरण कार्यदललाई समेत छलेर चोरबाटोबाट सदस्यहरुको सूचीलाई अन्तिम रुप दिन खोजेको भन्दै केन्द्रीय सदस्य छबी तिवारीले पहिलो चरणमा तालाबन्दी गरेको बताए ।
सक्रिय पत्रकारलाई नविकरण सूचीबाट हटाउने र चोरबाटोको नामावली सूची नस्वीकार्ने बताउँदै केन्द्रीय समिति भित्रैका सदस्यहरुले शुरु गरेको सो संघर्षलाई कमजोर नठान्न उनीहरुले माग गरेका छन् ।
महासंघको विधानमा केन्द्रीय, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसिएटका सदस्य तथा पदाधिकारीको निर्वाचन हुनुभन्दा ६ महिनाअघि सदस्यताको टुंगो लागाउनु पर्छ ।