केप कडमा मनाइयो साकेला उभौली
म्यासाचुसेट्स/ अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा साकेला उभौली मनाइएको छ। संस्थाका वरिष्ठ उपाध्यक्ष विष्णुमान प्रधानका अनुसार केप कड नेपाली समाजको आयोजनामा साउथ डेनिस सहरमा रहेको जोन ए केली पार्कमा गत आइतबार (मे १९) किरात वर्ष ५०८४ को साकेला-उभौली पर्व मनाइएको हो।
प्रमुख अतिथि संयुक्त किरात राई अर्गनाइजेसन अफ अमेरिका (युकेआरओए) का पूर्व अध्यक्ष पासुङ्ग बिष्णु राईले साकेला-उभौली पूजा गरे पछि कार्यक्रम सुरु भएको थियो।
केप कड नेपाली समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार हरि राईले उभौली पूजामा गीत गाएर नाच्दै उपस्थित सबैलाई त्यो सांस्कृतिक नाचको माहौलमा सहभागी हुन उत्प्रेरित गरेका थिए।
उभौलीको पूजा सम्पन्न गरी खानपान गरी दोस्रो चरणको कार्यक्रममा बालबालिकाहरूले सामूहिक रूपमा नेपाली गीतमा नाच गान गरेका थिए। यस्तै मार्सल आर्ट प्रदर्शन पनि गरिएको थियो।
सामूहिक नृत्यमा रिया चालिसे, दीप्ति अधिकारी, आशा आचार्य र विभूति सिटौला सहभागी थिए। मार्सल आर्ट कराते तर्फ बिष्लेक्स मान प्रधान, मिलन तामाङ, विधान खड्का र आर्य थापा सहभागी थिए।
बाल स्वयंसेवक आभाश्री खतिवडाले कार्यक्रम स्थल मैं लेमोनेड र स्न्याक्सको पसल राखी त्यसबाट आएको सबै रकम एक सय २१ डलर ८२ सेन्ट केप कड नेपाली समाजलाई दान गरेका थिए।
नेपाली मौलिक परम्परागत र सांस्कृतिक कार्यक्रमहरूमा नयाँ पुस्ताको सक्रिय सहभागिता रहेको थियो। संस्थाले राखेको नेपाली भाषा, संस्कृति र संस्कारको पुस्तान्तरणको लक्ष्यमा पुग्न मदत पुग्ने भन्दै प्रतिभा प्रदर्शन गर्ने बालबालिकालाई प्रशंसा प्रमाणपत्र प्रदान गरिएको थियो।
केप कड नेपाली समाजका अध्यक्ष केवी राईको सभापतित्व भएको कार्यक्रम सञ्चालन समाजका महासचिव इच्छा खड्का र सचिव सरस्वती खनालले गरेका थिए। समाजका वरिष्ठ उपाध्यक्ष बिष्णु मान प्रधानले स्वागत मन्तव्य दिएका थिए।
प्रमुख अतिथि तथा पासुङ्ग बिष्णु राईले साकेला-उभौली पर्वको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वको बारेमा प्रस्टाएका थिए। उनले साकेला उभौली कार्यक्रमले भावी पुस्तालाई राम्रो सन्देश दिने भन्दै आयोजकलाई धन्यवाद दिए। युकेआरओएका केन्द्रीय महासचिव मुक्ति नारायण राई र पशुपति बुद्ध फाउन्डेसनकी वरिष्ठ उप सभापति एलिना श्रेष्ठले साकेला उभौली को बारेमा आ-आफ्नो धारणा राखेका थिए।
कार्यक्रमका सांस्कृतिक संयोजक सिताराम राईले उभौली पर्वको बारेमा आफ्नो मन्तव्य राख्दै सबैलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरे। उनले साकेला उभौली पर्वको बारेमा अंग्रेजी भाषामा तयार पारिएको सामाग्री संस्थाका कार्य समिति सदस्य कुमुदा पोखरेलले वाचन गरेका थिए।
सोही अवसरमा केप कड नेपाली समाजका विभिन्न पदमा मनोनीतलाई स्वागत गरिएको थियो। संस्थापक अध्यक्ष हरि राई सल्लाहकार र छेजी शेर्पा कार्य समिति सदस्य मनोनीत भएका थिए। मनोनीतलाई संस्थाका अध्यक्ष केबी राईले प्रमाणपत्र प्रदान गर्नुका साथै खादा ओढाएर स्वागत गरेका थिए।
कार्यक्रममा एक सय ७५ जनाको सहभागी रहेको जनाइएको छ। संस्थाका स्वयम सेवकहरूले सबै जनाका लागि घरघरबाट खाना ल्याएका थिए।
समाजका कोषाध्यक्ष विमल खड्काले संस्थाको सदस्यता लिन इच्छुक व्यक्तिहरूलाई सदस्यता वितरण गरेका थिए।