डा. गोविन्द रिजाललाई सम्झँदा ह्यारिसबर्गमा रोकिएन ‘आँसु’
पेन्सिल्भेनिया/ ह्यारिसबर्गको डेरी स्ट्रिटमा रहेको एक हलमा शनिवार दिउँसो सन्नाटा थियो। मे ५ तारिख काठमाडौँको कीर्तिपुरमा भएको एउटा दुर्घटनाले मे १८ तारिखका दिनलाई पनि दुखाइ रहेको भान हुन्थो।
कीर्तिपुरमा भएको दुर्घटनामा कृषि तथा पशु विज्ञान क्षेत्रका विज्ञ डा. गोविन्द रिजालको निधन भएको थियो। भुटानी शरणार्थी डा. रिजाल त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा प्राध्यापक थिए।
डा. रिजालको १३ दिनको तिथिमा ह्यारिसरबर्ग आसपास रहेका उनका परिवार, साथीभाइ र शुभ चिन्तकहरूले श्रद्धाञ्जली सभाको आयोजना गरेका थिए।
कार्यक्रमको शुरु देखि नै हल ‘पिन ड्रप साइलेन्स’ थियो। भगीरथ खतिवडा कार्यक्रम सञ्चालक थिए। उनले मधुर स्वरले कार्यक्रम अगाडि बढाइरहेका थिए।
रिजाल परिवारबाट दीप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरियो। त्यस पछि अमेरिकी विश्व विद्यालयका प्राध्यापक माधव शर्माले स्वस्तिक वाचन गरे। सहभागी सबैले डा. रिजालको तस्बिरमा पुष्प चढाएर श्रद्धाञ्जली अर्पण गरे ।
त्यस पछि स्वर्गीय डा. रिजालका बारेमा राम फुयाँलद्वारा लिखित उनकै छोरीद्वारा वाचित कविता भर्चुअल मार्फत सुनाइएको थियो।
कार्यक्रम अगाडि बढ्दै थियो। तर जब वसुधा रिजाल स्टेजमा आइन परिस्थिति अलिक फेरियो। डा. रिजालकी धर्मपत्नी डा. शान्ता कार्कीले सन्देश पढ्न वसुधालाई भनिएको थियो। वसुधा नातामा डा. रिजालकी भाई बुहारी हुन्।
‘मेरो शब्द छैन, भावविवल भएकी छु, माफ पाउँ मेरो स्वर, मेरो वाचन प्रणालीमा’ डा. कार्कीको सन्देश पढ्नु अगाडि वसुधाले भनिन्, ‘हामीले ह्रस्वका दिन पनि देखेका थियौ, दीर्घका दिन पनि देखेका थियौ, तर यो दिन देखेका थिएनौ।’
‘दुखका दिन छ आज, भेला पनि देख्यौ,सभा पनि देख्यौ, तर यस्तो सभामा सहभागी हुन पर्छ भनेर देखेका थिएनौ।’ वसुधा त्यतिमा रोकिइन् उनले थपिन्, ‘सुखका आँसु देख्यौ, दुःखका आँसु देख्यौ,तर यो आँसु देखेका थिएनौ।’
वसुधा स्टेजमा भक्कानिँदै थिइन्। उनको गला अवरुद्ध भयो।
दर्शक दीर्घामा पहिलो रो को बिचमा थिए, चिकित्सक डा, खेम अधिकारी। सेतो सर्टमा आएका डा.अधिकारीले कालो फ्रेमको चस्मा खोले र ‘आँसु’ पुछे।
त्यसो त अलिक पहिले देखि नै उनी आँसु लुकाउन खोज्दै थिए तर सकेनन्। डा. अधिकारी मात्र होइन हलमा रहेका प्रयासको आँखा टिलपिलाएको थियो।
नहोस् पनि किन्, भुटानी समुदायले मात्र होइन, विश्वभरका नेपाली भाषीले एउटा कृषि विज्ञ गुमाएको थियो।
हल नै शोकमग्न भएको बेला, डा, रिजालका बाल सखा, प्राध्यापक माधव शर्माले परिस्थिति सम्हाले।
शर्माले डा. रिजाल सँगको आफ्नो पहिलो भेट देखिको विस्तार लगाए। बालपनका केही रमाइलो क्षण सुनाए। भुटानी शरणार्थी आन्दोलनमा डा. रिजालको योगदानको बारेमा चर्चा गरे। डा. रिजालले अमेरिकी विश्वविद्यालयको प्राध्यापकको अवसर स्वीकार नगरेको प्रसङ्ग कोट्याए।
डा. रिजालको बौद्धिक क्षमताको बारेमा चर्चा गरे। ट्राभल डकुमेन्टका कारण अमेरिकामा रहेका आमाबालाई भेट्दाको अप्ठेराका बारेमा सुनाए।
‘आज डाक्टर गोविन्द रिजाल अन्य कुनै देशमा हुनुहुन्थ्यो, पश्चिमी देशमा हुनुहुन्थ्यो भने, यत्तिको योगदान गरेको हुन्थ्यो भने त्यो देशले मानार्थ नागरिकता दिन्थ्यो, तर आज नेपालबाट आफ्ना मातापितालाई भेट्नका लागि कहीँ कतै जानका लागि नागरिकता त परै छोढिदिउँ त्यो लेबलको मान्छे भेट्न जान पनि अप्ठेरो थियो।’ शर्माले भने।
सभामा ग्लोबल भुटनीज हिन्दु अर्गनाइजेशनका अध्यक्ष नारद अधिकारी, डा. रिजालका विद्यार्थी लीला कुइँकेल आफ्ना अनुभव सुनाएका थिए।
पत्रकार भक्त घिमिरेले भुटानी शरणार्थी आन्दोलनमा डा. रिजालका योगदानका बारेमा चर्चा गरे । पत्रकार घिमिरेले डा रिजाल सँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालयमा ‘भुटान अध्ययन सेन्टर’ स्थापना गर्ने बारेमा गृह कार्य भइरहेको जानकारी दिए।
यस्तै डा. रिजालका बाल सहपाठी तथा ओएचआरसीका अध्यक्ष प्रेम खनाल, डा. रिजालको परिवारका तर्फबाट उनका भाइ टीका रिजालले आ आफ्नो भनाई राखेका थिए।
बाल गायक आदित्य कुइँकेलले टाढा टाढा जानु छ साथी.. बोलको गीत गाएका थिए।
श्रद्धाञ्जली सभा आयोजनाका लागि शुरु देखि नै पहल गर्ने मध्येका द भुटान रिसर्च एन्ड इन्फर्मेशन नेटवर्क (ब्रेन) का बोर्ड अफ डाइरेक्टर विश्व क्षेत्रीले डा. रिजालका योजनालाई अब कसरी अगाडी लैजाने भन्नेमा जुट्नु पर्नेमा जोड दिए।
यस्तै भुट्नीज कम्युनिटी ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाले डा. रिजालका अधुरा योजनालाई अब पुरा छलफल गर्ने पर्ने बताए।
‘आउने दिनहरूमा उहाँका सपनाहरूका बारेमा हामी संयुक्त रूपमा के गर्न सकिन्छ हामी लेखाजोखा, तर्जुमा गर्ने छौ।’ सभा समापन गर्दै निरौलाले भने।
कार्यक्रमका थप तस्बिरहरु
सहभागीहरू हलबाट बाहिरिँदै गर्दा प्रयासको हातमा डा. रिजालद्वारा लिखित पुस्तकहरू ‘बेजोड बन्ध’ र ‘प्याराडाइज इन परदेशी’ थियो, अनि आँखाको आशु ओभाउदै।