ह्यारिसबर्गमा मनाइयो बुद्ध जयन्ती
ह्यारिसबर्ग/ शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २०६८औ जन्म जयन्ती बुधवार अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा मनाइएको छ।
यस पटक बुद्ध जयन्ती मे महिनाको २३ तारिख परेको छ। तर कार्यक्रम आयोजना स्थल व्यवस्थापनका कारण एक साता अगाडि नै सार्वजनिक कार्यक्रम गरिएको आयोजकको भनाई छ।
भुट्नीज बुद्धिष्ट अर्गनाइजेशन (बीबीओ), उर्गेन छोलिङ गुम्बा र भुटनीज गुरुङ कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्गले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन्।
ह्यारिसबर्गको लिङ्गगलसटाउन रोडमा आयोजित कार्यक्रममा बौद्ध धर्म गुरु खेन्पो पेम छिरी शेर्पा तथा अन्य लामाहरू पेमा गुरुङ, साम्तेन गुरुङ, काल्साङ गुरुङ र जीवन गुरुङद्वारा विशेष पूजापाठ गरिएको थियो।
कार्यक्रमका मुख्य हाइलाइट भिडियोमा
विशेष पूजामा भुटनीज बुद्धिष्ट अर्गनाइजेशन (बीबीओ ) अध्यक्ष कुल पी गुरुङ, उर्गेन छोलिङ गुम्बाका अध्यक्ष रत्न गुरुङ, बीबीओका पूर्व अध्यक्ष ओम पी गुरुङ, कोषाध्यक्ष डिभी गुरुङ, भुटनीज गुरुङ कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्गका अध्यक्ष हेम राज गुरुङ, उपाध्यक्ष हर्कराज गुरुङ, सचिव वीरेन गुरुङ, कोषाध्यक्ष पुष्प राज गुरुङ, सल्लाहकार टेक गुरुङ लगायत सहभागी भएका थिए।
विशेष पूजा पछि गुरु खेन्पो पेम छिरी शेर्पाद्वारा बौद्ध धर्मका विषयमा प्रवचन दिइएको थियो।
कार्यक्रममा सहभागी सबैले बौद्ध धर्म गुरु खेन्पो पेम छिरी शेर्पाबाट खादा सहित आशीर्वाद लिएका थिए।
कार्यक्रमका तस्बिरहरु