एनआरएनए : उच्चस्तरीय समिति संयोजक घले काठमाडौंमा, पहिलो बैठक कहिले ?

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको उच्चस्तरीय समितिका संयोजक डा. शेष घले नेपाल आइपुगेका छन् ।
सर्वोच्च अदालतको आदेश अनुसार उनको नेतृत्वमा उच्चस्तरीय समिति पुनर्गठन भएपछि एनआरएनएको गतिविधि सम्हाल्ने गरी नेपाल फर्किएको उनी निकट स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि समानान्तर अभ्यास गरिरहेका तीन वटै समूहलाई अवैध घोषणा गर्दै घले नेतृत्वको उच्चस्तरीय समितिले पहिलो बैठक बसेको ६ महिनाभित्र एकता अधिवेशन गर्न आदेश दिएको थियो ।
संयोजक घले नेपाल फर्किएकाले अब पहिलो बैठक कहिले बस्ने भन्ने एनआरएनभित्र कौतुहलता बढेको छ ।
तर, अहिले पनि सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आइनसकेकाले पहिलो बैठक भनेर औपचारिकरुपमा बस्नका लागि कम्तिमा अझैं २–३ महिना लाग्ने आंकलन गरिएको छ ।
फैसलाको पूर्ण पाठ कुर्दै गर्दा घलेले आन्तरिक छलफल भने गरिरहेको उनी निकट स्रोतले समाज टाइम्सलाई बताएको छ । औपचारिकरुपमा मिडियामा बोल्ने भन्दा पनि आन्तरिक तयारीमा रहेको जनाइएको छ ।
अस्ट्रेलियाबाट फर्किएका उनले अहिले उच्चस्तरीय समितिमा रहने व्यक्तिहरुका साथै सरकारसँग पनि छलफल गरिरहेको बुझिएको छ ।