पहिलो कोभिड खोप बनाउने चिनियाँ वैज्ञानिकलाई भ्रष्टाचारको आरोप
काठमाडौं । कोरोना महामारी (कोभिड १९) का बेला खोपको विकास गर्ने पहिलो चिनियाँ वैज्ञानिक भ्रष्टाचारको आरोपमा मुछिएका छन् । उनले सन् २०२० मा कोराना भ्याक्सिन बनाएका थिए । तर, भ्रष्टाचारको आरोपमा मुछिए पछि उनलाई चीनको संसद (जन कांग्रेस) बाट बर्खास्त पनि गरिएको छ । चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी), चाइना नेशनल फार्मास्युटिकल ग्रुपको सहायक कम्पनीका अध्यक्ष याङ सियाओमिङलाई भ्रष्टाचार र कानुन उल्लंघनको आरोप लगाइएको छ ।
जसका कारण उनको राष्ट्रिय जन कांग्रेस (एनपीसी) को सदस्यता खारेज गरिएको छ । एनपीसीले विज्ञप्ति जारी गर्दै याङमाथि पार्टीको अनुशासन समितिले पहिले नै अनुसन्धान गरिरहेको साउथ चाइना मोर्निङ पोस्टले जनाएको छ ।
विगत केही वर्षदेखि चिनियाँ राष्ट्रपति सी चिनफिङले देशभर भ्रष्टाचार विरोधी अभियान चलाइरहेका छन् । यसैबीच याङको बर्खास्तीलाई चीनको स्वास्थ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो कारबाही मानिएको छ ।
यो कारबाहीको उद्देश्य स्वास्थ्य क्षेत्रमा हुने भ्रष्टाचारलाई जरैदेखि उखेल्ने हो । अनुसन्धानका क्रममा चीनका धेरै अस्पतालका प्रमुखहरूलाई हिरासतमा राखिएको छ । यसबाहेक सिनोफार्मका अर्का पूर्व वरिष्ठ अधिकारी झोउ बिनलाई पनि अनुसन्धानको दायरामा राखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
६२ वर्षीय याङ सियाओमिङ एक अनुभवी अनुसन्धानकर्ता हुन् । उनले चीनको पहिलो कोरोनाभाइरस खोप, बीबीआइबीपी खोप विकास गर्ने टोलीको नेतृत्व गरेका थिए । पछि यो खोपले सामान्य प्रयोग स्वीकृत पाएको थियो ।
कोरोना भाइरसको पहिलो केस मार्च २०२० मा चीनको वुहान सहरमा देखिएको थियो र पछि विश्वभर फैलिएको थियो । त्यसपछि यो रोगका कारण विश्वभर धेरै मानिसको मृत्यु भएको थियो ।
यसअघि याङलाई कोरोना महामारीसँग लड्न महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि गरिएको थियो । त्यसपछि, उनलाई विज्ञान र चिकित्सा क्षेत्रमा चिनियाँ वैज्ञानिकहरूलाई दिइने ‘लेउङ हो ली’ फाउन्डेशन पुरस्कार पनि प्रदान गरिएको थियो ।