सोमबारको सूर्यग्रहणको अमेरिकामा प्रभाव : के कुरामा सावधान रहने ?
– ज्यो.पं. दिवाकर पन्त
वि.सं. २०८० सालभरमा संसारभर कुल चार वटा ग्रहण लाग्ने अवस्था रह्यो । त्यसमध्ये तीन वटा ग्रहण घटित भइसकेका छन् । अन्तिम ग्रहणका रुपमा वि.सं. २०८० चैत्र २६ गते अर्थात ८ अप्रिल २०२४ सोमबारका दिन सूर्यग्रहण लाग्दैछ । यो ग्रहणको प्रभाव नेपाल लगायतका दक्षिण एसियाली देशमा भने पर्ने छैन् । अमेरिका लगायतका पाश्चात्य देशमा भने यस ग्रहणको प्रभावको घनत्व बढि रहने छ ।
हाम्रो पूर्विय दर्शन अन्तर्गत वैदिक सनातन प्रचलनमा ग्रहणको अवधिमा केही सावधानी अपनाउनु पर्ने विषयलाई एक हदसम्म धार्मिक स्वरुपमा प्रकट गरेको पाइन्छ । हुन त अनेकौँ वैज्ञानिक विषयहरुलाई हिन्दू धर्मका प्रवद्र्धक ऋषिमुनि विद्वान वैज्ञानिकहरुले धार्मिक र सांस्कृति आवरणसहित अनुशासनको पालनासहित पिँढि दर पिँढि हस्तान्तरण गर्ने सामाजिक विज्ञानको सोच राखेको देखिन्छ । सोही झै ग्रहणको सन्दर्भ ज्योतिष विद्यामार्फत गणितीय गणनामार्फत कुनै पनि नयाँ बर्ष आरम्भ हुनु अघि नै उक्त नयाँ बर्षमा के कति खालका ग्रहण लाग्दछन् ? भन्ने यकिन गर्ने प्रणाली हाम्रा पूर्वजहरुले स्थापना गरेको स्पष्ट छ ।
साथै ती ग्रहण मध्ये कति सूर्य ग्रहण त कति चन्द्र ग्रहण र तिनीहरुमध्ये खग्रास हो कि खण्डग्रास हुने भन्ने यकिन नयाँ बर्ष आरम्भ हुनु अघि नै यकिन गर्ने गरेको पाइन्छ । साथै ग्रहणका बेला पालना गर्नु पर्ने नियमलाई जीवन पद्धतिको नियमका रुपमा बाँधेर सूर्य, पृथ्वी र चन्द्रमा जस्ता खगोलिय पिण्डको घुमाइका क्रममा उत्पन्न हुने विशिष्ठ अवस्थाका बेला उत्पन्न हुने विकिरण आदीको प्रभावबाट बच्ने र प्रभाव न्युन पार्ने सोच लिएको पाइन्छ । चन्द्र ग्रहणलाई भन्दा सूर्य ग्रहणलाई बढि सावधानी अपनाउनु पर्ने घटनाका रुपमा लिइएको छ । खालि आँखाले सूर्यग्रहण नहेर्नका लागि वैदिक सनातन ज्ञानका विभिन्न स्मृतिग्रन्थहरुमा स्पष्ट रुपमा उल्लेख गरिएको छ । आजको विज्ञानले पनि सूर्यग्रहणलाई नाङ्गो आँखाले नहेर्न चेतावनी नै दिने गरेको छ । यसमा हाम्रा ऋषिमुनि विद्वान वैज्ञानिकहरुले त्यसबेलाको युगमा नै भनेको विषय आज फरक हुन आएको छ र ? यसलाई विज्ञान नमानेर के मान्ने ?
हाम्रा पात्रोमार्फत गणितीय गणना गरि हजारौँ हजार बर्ष अघि देखि बताउने गरिएका ग्रहणका बारेको जानकारी एक मिनेट पनि तल माथि नपर्नुले वैदिक विज्ञानको आधार कुन हदसम्म वैज्ञानिक छ भन्ने बुझ्न कुनै कठिन छैन् । तथापी आजभोलीको समयमा वैज्ञानिक उपकरणहरुले भरिपूर्ण समय पनि भएकाले ग्रहणलाई सामान्य परिघटना हो र हिन्दूहरुले भने झै यसलाई यो यो गर्नु वा नगर्नु भनि अनुशासनको दायरामा बाँधेर बार्नु भनेको पुरातनवादी हुनु हो भन्ने गरेको देखिन्छ ।
यस्तो अवस्थामा एउटा प्रश्न के आउँछ भने – उसो भए यो वैज्ञानिक युग जहाँ हरेक विषयमा मेसिन आविष्कार गरिएको युगमा विज्ञानले समेत समाधान गर्न नसकेको अनौठा लाग्ने र विगतमा विशेषगरी वैदिक सनातनीहरु बाहुल्य क्षेत्रमा देखा नै नपरेको रोग व्याधीहरु संसारका विकसित स्थानमा देखा किन परेका होलान ?
त्यसैले ग्रहणको प्रभाव मानव जीवन र जीवित प्राणिमा अवश्य पर्दछ । कतिपय प्रभाव प्रत्यक्ष देखिने खालका हुन्छन् भने कतिपय मध्यकालिन समयमा र कतिपय भने दीर्घकालिन समयमा देखा पर्ने खालका हुन्छन् भनि शास्त्रहरुमा व्याख्या गरिएको छ । ग्रहणका बेला गर्भाधान भएर जन्मने बालक वा बालिकाको मानसिक र शारीरिक स्वास्थ्यका बारेमा पटक पटक चर्चा गरिएको छ । साथै त्यस्ता बालकबालिकाले समाजलाई पुर्याउने नकारात्मक प्रभावबाट उत्पन्न हुनसक्ने चुनौतिबारे बेलैमा सावधानी अपनाउन सचेत समेत पारिएको छ ।
आउनुस् सूर्य ग्रहणका बेला एक औसत स्वस्थ व्यक्तिले अपनाउनु पर्ने नियम वा सावधानीबारे चर्चा गरौँ –
१. चन्द्र ग्रहणका बेला ९ घण्टा अगाडिदेखि सुतक लाग्ने भएकाले सामान्य व्यक्तिहरुलाई भोजन गर्न निषेध गरिएको छ ।
२. सूर्य ग्रहणका बेला १२ घण्टा अगाडिदेखि सुतक लाग्ने भएकाले सामान्य व्यक्तिहरुलाई भोजन गर्न निषेध गरिएको छ ।
यस सूर्य ग्रहणमा अपनाउनु पर्ने सावधानी –
१. बालकबालिका, बृद्धबृद्धा, आपतकालीन सेवामा कार्यरत, अत्यावश्यक सेवामा कार्यरत, राजसेवामा सेवाकालिन अवधिमा सक्रिय, आतुर, अशक्त, यात्रारत लगायतका अत्यावश्यक सेवामा खटिएकाहरुले बाहेक अरुले ग्रहण शूरु हुनु भन्दाको सामान्यतया पनि २ देखि ३ घण्टा अघिदेखि खाना खान बर्जित गरिएको छ ।
२. पहिलो बुँदामा भने झै गर्न नसकेमा कम्तिमा पनि ग्रहणको कुल अवधिका बेला भोजन गर्न निषेध नै मानिएको छ ।
३. ग्रहणका बेला यौन सम्पर्क गर्न निषेध गरिएको छ ।
४. ग्रहणका बेला गर्भाधान गर्न निषेध मानिएको छ ।
५. ग्रहणको अवधिमा नयाँ यात्रामा निस्कने अर्थात यात्रा आरम्भ गर्नु सामान्य अवस्थामा बर्जित गरिएको छ ।
६. ग्रहणको अवधिमा नयाँ कार्यको थालनी जस्तै– गृहारम्भ, गृह प्रवेश, व्यावसाय थालनी, विवाह, व्रतबन्ध तथा पौष्टिक अनुष्ठान गर्न बर्जित मानिएको छ ।
७. सामान्य व्यक्तिका लागि ग्रहणको अवधिभर सुत्न पनि बर्जित मानिएको छ ।
८. सम्भव भएसम्म ग्रहणको आरम्भ र अन्त्यमा स्नान गर्नु अर्थात नुहाउनु पर्ने प्रावधान छ । यदि आरम्भमा सम्भव नभएमा ग्रहण सकिएपछि स्नान गर्नु ठीक हुने छ । यदि आरम्भ र अन्त्य दूवै समयमा स्नान गर्न व्यावहारिक रुपमा कठिन भएमा ग्रहण सकिएपछि राम्रोसँग मुख धुने, आँखाहरुमा भित्र पस्ने गरि पानी छ्याप्ने, कानमा पानीले पुछपाछ गर्ने, कपालमा पानीले मुसार्ने तथा खुट्टा पनि पानीले पाखाल्नु पर्दछ ।
९. गर्भवती महिलाले ग्रहण हेर्दै नहेर्नु भनिएको छ । भने ग्रहणका बेला घर भन्दा बाहिर निस्कन बर्जित गरिएको छ । साथै ग्रहणको प्रत्यक्ष विकिरण नपर्ने छत भएको स्थानमा अर्थात घरको भित्रि भागमा बस्न निर्देश गरिएको छ ।
१०. गर्भवती महिना स्वस्थ नै रहेको अवस्थामा निद्रामा जाने नगरि नसुत्न र गर्भ रहेको क्षेत्र वरपर हातले स्पर्श गर्न नहुने भनिएको छ । पतिपत्नी प्रति र गर्भवती महिलाप्रति लक्षित अनुशासनले नयाँ जन्मके बच्चाको मानसिक र शारीरिक स्वास्थ्य प्रतिको ध्यानाकर्षणको जोड रहेको देखिन्छ ।
यस्तो अनुशासनलाई पेलेमा हालको अटिजम, डाउन सिण्ड्रोम जस्ता खालका (शास्त्रमा ठ्याक्कै यि शब्दाबली प्रयोग नभए पनि संस्कृत भाषामा यस्तै खालका लक्षय हुने शब्दावली प्रयोग भएका छन्) समस्या भएका सन्तान जन्मने भनिएको छ । त्यसैले ग्रहण सामान्य आँखाले हेर्दा खगोलिय गतिको खेल त हो नै तर यसको प्रभाव दृश्य अदृश्य हुने भएकाले संवेदशिल रहन मार्गदर्शन गरिएको हो । ग्रहण लाग्दा विशेषगरी खग्रास सूर्यग्रहण हुँदा दिउँसै रात परेझै हुनु प्रत्यक्ष दृश्य प्रभाव हो । तर अप्रत्क्ष प्रभाव सामान्य तवरबाट देखिँदैन भने महशुस पनि गर्न सकिँदैन तर प्रभाव भने परेकै हुन्छ ।
ग्रहणका बेला गरिने कार्य –
१. कुनै पनि आफ्ना गुरुबाट मन्त्र दिक्षा लिने, गुरुले पनि आफूले पढाएका चेलाहरु मध्ये योग्य चेलालाई मन्त्र दान गर्ने उपयुक्त समय ग्रहणको अवधि हो । विशेषगरी सूर्यग्रहणको अवधिलाई अति उत्तम मानिन्छ ।
२. आफूले गुरुबाट पाएका विशेष मन्त्रहरु ग्रहणका बेला बढि भन्दा बढि जप गर्ने ।
३. धार्मिक आध्यात्मिक साधना गर्ने ।
४. भगवान विष्णु सम्बन्धी पूजा, पाठ, जप, भजन आदी जस्ता कार्य गर्ने ।
५. शत्रु पक्षका विरुद्ध गर्नुपर्ने भिषण प्रकारका युद्ध कार्वाही ।
अमेरिकाका यि स्थानमा देखिने छ यस सूर्यग्रहण –
डल्लास टेक्सास, इडाबेल अक्लोहोमा, लिटिल रक अर्कानश, मिजौरी, केन्टुकी, इलिनोस, इण्डियाना, ओहायो, पेन्सिलभेनिया, न्युयोर्क, बेरमोन्ट, न्यु हम्फ्रे, माइनी ।
ग्रहणका बेला अपनाउनु पर्ने भनिएको सावधानीलाई कुनै अन्धविश्वासी मापदण्ड मात्र हो भनि उपेक्षा नगरौँ । तपाईको व्यावहारिक वस्तुस्थिति अनुसार पालना गर्ने प्रयास गरौँ । तर यसलाई पुरै उपेक्षा गरेर छाडा तवरबाट अघि बढ्दा आफु र आफ्ना सन्तानमाथि पर्ने नकारात्मक प्रभावबारे केही सचेत बन्ने प्रयास गर्नु नै ठीक हुने छ ।
अमेरिकामा सन २०१७ मा भएको सूर्यग्रहणका बेला सवारी दुर्घटना बढेको एक अध्ययनले देखाएको छ भने वैज्ञानिकहरुले यस २०२४ को सूर्यग्रहणका बेला पनि अमेरिकामा सडक दुर्घटना बढ्ने अनुमानसहित चेतावनी समेत दिएका छन् । त्यसैले वैदिक सनातनका ऋषिमुनि विद्वान वैज्ञानिकहरुले गरेको अध्ययन पूर्णतया वैज्ञानिक कार्यको आधारस्तम्भ भएकोमा गर्व गर्ने अवस्था देखिन्छ ।
(लेखक पन्त : युवा ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद् तथा पूर्वीयदर्शनका व्याख्याता हुन् । सम्पर्क ९८४१५२७५१०, भाइबर तथा ह्वाट्स एपमा पनि)