‘फैसलालाई एकताबद्ध एनआरएनए बनाउने एउटा अवसरको रूपमा लिनुपर्दछ’
डा.केशव पौडेल
गैर आवासीय नेपाली संघ केवल एउटा संस्था मात्र नभई गैर आवासीय नेपालीको आड अनि भरोसाको केन्द्र हो । स्थापनाकाल देखिनै आम गैर आवासीय नेपालीका तमाम मुद्दालाई नेपाल सरकार मार्फत संघले सम्बोधन गराउन सक्रिय भूमिका खेल्दै आएको यहाँहरू सबैलाई अवगतै छ ।
हामी सबैको चाहना ‘एक पटकको नेपाली सधैँको नेपाली’ अनि नेपाली नागरिकताको निरन्तरता नै हो । यसका निम्ति खण्डित एनआरएनए अनि निश्चित स्वार्थ सहितको एनआरएन नभई सबै समेटिएको एनआरएनए अनि निस्वार्थ भावले सहयोग गर्न सक्ने र चाहने एनआरएनको आवश्यकता रहेको छ ।
अहिले हामीले उठाउँदै आएको नागरिकताको विषय गैर आवासीय नेपाली नागरिकताको व्यवस्थासँगै त्यसले आंशिक सम्बोधन पक्कै भएको छ । यसमा पनि हामी एकताबद्ध हुन नसक्दा कमजोर आवाजका कारण धेरै विषयहरूलाई सम्बोधन गराउन सकेका छैनौँ ।
स्थापनाकाल देखिनै एउटा विशिष्ट कृत पहिचान बनाएर सरकारसँग दरिलो ढङ्गबाट आफ्नो कुरा राख्न सक्ने सामर्थ्यको एनआरएनए रहेको थियो । तर सीमित स्वार्थका खातिर संघको नवौँ विश्व सम्मेलनले संघको गतिमा अवरोध मात्र सिर्जना गरेन एनआरएनलाई विभाजित समेत बनायो । बाटो त्यही नेर बिग्रिएपछि समाधान खोजी सही ट्र्याकमा ल्याउने भन्दा पनि सबै पक्षबाट बल मिच्याईनै गर्न खोजियो, दशौं विश्व सम्मेलनमा ।
त्यसमा झन् बढी मलजल हुने काम भयो, एघारौँ विश्व सम्मेलन सम्म आई पुग्दा, हामीले निर्वाचनमा अवलम्बन गरेको परिपाठी, त्यसबाट देखिएको परिदृश्य र उत्पन्न परिणामले हाम्रो प्रतिष्ठा धुमिल भैसकेको थियो, यसर्थ हामीले कसैको फाइदा वा बेफाइदा, कसैको हार वा जीतको रूपमा नलिई नेपालको सम्मानित सर्वोच्च अदालतले गरेको यो फैसलालाई एकताबद्ध एनआरएनए बनाउने एउटा अवसरको रूपमा लिनुपर्दछ । अदालतको निर्णय स्वागत योग्य छ ।
फैसलालाई विभिन्न कोणबाट परिभाषित गर्ने र फेरि आ-आफ्नो अनुकूल व्याख्या गर्ने चेष्टा कसैले नगरौँ । बरु यसलाई हामी सबै एनआरएनहरू सहमति, सहकार्य र सह-अस्तित्वका साथ अघि बढ्दै एकताबद्ध एनआरएनए बनाउने अवसरका रूपमा उपयोग गरौँ।
विगतका ती विवादित समयमा पनि म सदैव सहमति र सहकार्यतालाई अगाडि राखी एकताबद्ध एनआरएनए बनाउन लागेको थिए । एघारौँ सम्मेलनबाट उत्पन्न परिस्थिति प्रति पनि मैले आफ्नो धारणा राख्दै सबैलाई अतिवादीता छाडी मिलेर जाने वातावरण निर्माणमा जुट्न अपिल समेत गरेको समेत यहाँहरूमा विदितै छ ।
व्यक्तिगत रूपबाट भन्दा पनि संस्थागत रूपमा हेर्दा सर्वोच्चको यो निर्णयले संस्थाले जितेको छ । व्यक्तिगत पद गौण विषय हो संस्थाको प्रतिष्ठा र एकता अहँ हो । यो निर्णयले मेरो वा अरू कसैको पद रह्यो या रहेन यसलाई हामीले महत्त्व दिने भन्दा पनि पद भन्दा ठुलो हाम्रो सक्रियता, योगदान अनि एनआरएनएको भविष्य हो भन्ने तर्फ सचेत रहँदै अगाडि बढ्न सबैमा अपिल पनि गर्न चाहन्छु । एउटै उद्देश्य भएका धेरै कमजोर संस्था भन्दा एकीकृत र सबल एनआरएनए बनाउन हामी सबै लागौँ ।
धन्यवाद, जय नेपाल,
जय एनआरएनए, जय एनआरएन ।
(पौडेल एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष हुन्)