‘चुनावी अभियानमा आर्थिक रूपले अलि कमजोर देखिएका छौँ’: डा. ह्यारी भण्डारी
मेरील्याण्ड/ डेलिगेट डा ह्यारी भण्डारीले चुनावी अभियानकोलागि आर्थिक रूपले अलि कमजोर देखिएको बताएका छन्।
अमेरिकाको मेरील्याण्ड राज्यको डिष्टिक २ बाट कंग्रेशनल चुनावमा होमिएका नेपाली मूलका पहिलो डेलिगेट डा भण्डारी आर्थिक अभावले चुनाव प्रचार प्रभावित हुने सक्ने पनि चिन्ता व्यक्त गरे।
गत साता मात्र गठन गरिएको भण्डारी सहयोग समूहका पदाधिकारीहरू, कंग्रेशनल क्याम्पेनका टिम तथा नेपाली मूलका सञ्चारकर्मीहरू समेतको सहभागितामा बुधवार साँझ भएको बैठकमा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
भर्चुअल माध्यमबाट भएको बैठकलाई सम्बोधन गर्दे भण्डारीले नेपाली समुदायका अगुवाहरूलाई आर्थिक सहयोगको लागि अपिल गरे। ‘अहिले हामीहरू यो चुनावी अभियानकोलागि आर्थिक रूपले अलि कमजोर देखिएका छौँ, यसलाई सबल बनाउन हजुरहरूको सानो भन्दा सानो रकम पनि महत्त्वपूर्ण हुन्छ।’ भण्डारीले भने ।
उनले सर्वेक्षणमा प्रतिस्पर्धी देखिएको बताए। ‘हामीहरूलाई सर्वेक्षणमा प्रतिस्पर्धी देखाएको छ, यहाँका मूलधारका मिडियाहरूले पनि प्राथमिकताका साथ कभरेज गरेका छन् तर हामीहरू सोच अनुसारको आर्थिक सङ्कलन गर्न पछाडि परेका छौँ ।’ उनले भने।
भण्डारीले सहयोग नगद वा जेली मार्फत नगर्न आग्रह गरे। ‘केही शुभ चिन्तकले हाम्रो क्याम्पियन म्यानेजरको फोनमा जिलो ट्रान्सफर गर्नु भएको रहेछ, हामीले त्यसरी सहयोग लिन मिल्दैन, त्यो हामीले फिर्ला गर्ने गरेका छौ।’ भण्डारीले भने,’नगद एकमुष्ट सङ्कलन गरेर नल्याउन पनि हामी अनुरोध गर्छौ। हामीलाई स्वयम व्यक्तिले सहयोग गर्नु पर्छ त्यो पनि तोकिएको ढाँचाबाट।’
बैठकमा भण्डारी सहयोग समूहका संयोजक कानुन व्यवसायी वासु फुलाराले विगत एक दशक भन्दा बढी समय देखि राजनीतिमा होमिएका भण्डारीको चुनावी अभियानमा सबै मिलेर सहयोग गर्न अपिल गरे।
‘हामी नेपाली अमेरिकीको यत्रो उपस्थिति रहेको छ, हरेक विषयमा भण्डारीले सहयोग गर्दे आउनुभएको छ, अव हामीहरूले उहाँलाई सहयोग गर्ने वेला आएको छ ।’ बैठकमा फुलराले भने।
बैठकमा विभिन्न राज्यबाट प्रतिनिधित्व गर्ने सामाजिक अभियन्ताहरूले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।
बैठकमा भण्डारीको क्याम्पेन टीमका तर्फबाट म्याट क्यास्लर, शाम रिभर्सले चुनावी अभियान, फेडरल ईलेक्शन कमिसनको मापदण्डहरू, आर्थिक सङ्कलन लगायतका विषयमा जानकारी दिएका थिए।
भण्डारीको चुनावी अभियानलाई सहयोग गर्न यहाँ क्लिक गर्न सक्नु हुन्छ।