अमेरिकामा रहेका नेपाली समक्ष ह्यारी भण्डारी द्वारा पुन सहयोगको अपिल
पेन्सिल्भेनिया/ अमेरिकाको मेरील्याण्ड राज्यको डेलिगेड डा. ह्यारी भण्डारीले अमेरिकाबासी नेपाली समक्ष सहयोगका लागि पुन अपिल गरेका छन्।
नेपाली मूलका पहिलो अमेरिकन विधायक भण्डारीले संघिय सांसदका लागि उम्मेदवारी घोषणा गरी सकेका छन्।
भण्डारीले आफ्नो चुनावी अभियानमा ठुलो खर्च लाग्ने भएकाले आर्थिक सहयोगका लागि अमेरिकामा रहेका आम नेपाली समक्ष खबर पुर्याइदिन आइतबार साँझ भर्चुअल मार्फत आयोजित पत्रकार सम्मेलनमा आग्रह गरे।
उनले आफू संघीय संसदमा पुगे अमेरिकामा रहेका समग्र नेपाली भाषीलाई फाइदा हुने बताए।
‘मैले डेलिगेटको रूपमा पनि थुप्रै काम गरेको छु, म सँग विश्वास छ संघीय संसदमा पनि अझ धेरै गर्न सक्छु, यसले अमेरिका रहेका नेपालीलाई फाइदा नै हुन्छ।’ पत्रकार सम्मेलनमा भण्डारीले भने।
उनले आफूले एउटा लेबलमा काम गरेर देखाएको बताए। भण्डारीले आफूले मेरील्याण्ड संसदबाट दशै बिल ल्याएको, कोभिडको बेलामा फण्डहरु ल्याएको बताए। उनले केन्द्रीय राज्य स्रोतमा अपार सम्भावना भएको र त्यसको फाइदा नेपाली समुदायले पनि पाउनु पर्नेमा जोड् दिए।
भण्डारीले आफूले स्वास्थ्य बीमा, पारिवारिक पुनर्मिलन, शिक्षा लगायतको क्षेत्रमा काम गर्ने बताए। यस्तै उनले अमेरिकन नागरिक भइसके पछि पनि आफन्त भेट्न भुटान जानबाट वञ्चितहरूका लागि पनि काम गर्ने बताए।
‘भुटानी दाजुभाइले थातथलो जान नपाउने अवस्था छ, त्यहाँ रहेका आफन्तलाई भेटघाट गर्न जान पाउने बनाउन म काम गर्छु।’ उनले भने।
उनले विद्यार्थीले २० घण्टा सम्म काम गर्ने वातावरणका लागि पहल गर्ने पनि बताए।
भण्डारीले आफ्नो चुनावी अभियानका लागि १.७ मिलियन डलर खर्च हुने बताए। आठ लाख मतदातालाई आफ्नो सन्देश पुर्याउन सबै भन्दा धेरै खर्च हुने भण्डारीले बताए। उनले अहिले मासिक २०-२५ हजार डलर खर्च भइरहेको जानकारी दिए। यस्तै एउटा सन्देश पठाउन ६७ सेन्ट लाग्ने र त्यसको प्रिन्ट गर्न मात्र ४० सेन्ट खर्च हुने बताए।
भण्डारीले अहिले नेपाली समुदायले दिएको एक दुई डलर पछि हजारौँ डलरको रूपमा फिर्ता हुने बताए । ‘समुदायलाई घाटा हुँदैन, एउटा नेपाली त्यहाँ पुग्दा समुदायलाई फाइदा नै हुन्छ।’
भण्डारीले मे १४ तारिखमा हुने प्राइमरी चुनाव जितेमा अन्तिम चुनाव सहज हुने बताए। ‘यो डेमोक्रयाटको क्षेत्र हो त्यसैले गाह्रो भनेकै प्राइमरी हो।’ उनले भने,’प्राइमरी जितियो भने नोभेम्बर गाह्रो छैन।’
भण्डारीले प्राइमरी चुनाव भन्दा एक महिना अगाडि नै आर्थिक सहयोग गरिदिन पनि अपिल गरे।
विगत २१ वर्षदेखि अनवरत रूपमा प्रतिनिधित्व गर्दै आएका कंग्रेसमेन डच रूपेर्सबर्गरले अवकाशको घोषणा गरेपछि ओपन सिटमा भण्डारीले उम्मेदवारी घोषणा गरेका हुन्।
ह्यारी भण्डारीलाई सहयोग गर्न यहाँ क्लिक गर्नु होला
र यो पनि…

















