भाजपाका पूर्व महासचिव: ‘नेपालको लोकतन्त्र विरुद्ध कसैले षड्यन्त्र गर्न सक्दैन’
काठमाडौं । भारतीय जनता पार्टीका पूर्व महासचिव राम माधवले नेपाल र भारतले दुवै देशका भाषा, संस्कृति र सभ्यताको पुनरुत्थानका लागि सहकार्य गर्नुपर्ने बताएका छन् । समान संस्कृति र सभ्यता भएका दुई छिमेकी किन यो कार्यमा सँगसँगै अघि बढिरहेका छैनन् भनेर उनले जिज्ञासा राखे ।
काठमाडौंमा आयोजना गरिएको तीन दिवसीय नेपाल–भारत संस्कृत सम्मेलनको समापन समारोहमा मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै राम माधवले नेपाल र भारत लोकतन्त्र भएका देश भएकाले भारत सदैव नेपालको लोकतन्त्रको सफलता चाहन्छ भने । उनले नेपालको लोकतन्त्र सफल बनाउने जिम्मेवारी नेपालीहरूकै भएकाले यसमा कसैले पनि षड्यन्त्र र हस्तक्षेप गर्न नसक्ने बताए ।
माधवले भने, ‘यहाँ कस्तो शासन व्यवस्था चाहिन्छ ? यसको निर्णय यहाँका मानिसले नै गर्नुपर्छ । हामी साझा संस्कृति र साझा विरासतका मानिस हौँ । यो राजनीतिक विषय नै होइन । यो सभ्यताको विषय हो । एउटै सभ्यताका व्यक्ति भएको नाताले हामीले एक आपसमा मिलेर काम गर्नुपर्छ । यो सम्प्रभुताको विषय होइन ।’
राम माधव इन्डिया फाउन्डेसनका चेयरपर्सन हुन्, उनी राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) को अखिल भारतीय कार्यकारी मण्डलका सदस्य पनि हुन् ।
यही २७ मार्च देखि २९ सम्म सञ्चालित सम्मेलन नीति अनुसन्धान प्रतिष्ठान, नेपाल, इन्डिया फाउन्डेसन र केन्द्रीय संस्कृत विश्वविद्यालयको संयुक्त संयोजनमा सञ्चालन भएको आयोजकले जनाएका छन् ।