एआरयुले सकर फर सक्सेसको दोस्रो सिजनका लागि भर्ना खुलायो
ह्यारिसबर्ग/ एसियाली रिफ्युजी युनाइटेड (एआरयु) ले आफ्नो महत्त्वाकाङ्क्षी परियोजना ‘सकर फर सक्सेस’ को दोस्रो सिजनका लागि भर्ना खुला गरेको जनाएको छ।
प्रतिभा खोजी अभियान अन्तर्गत एआरयुले बालबालिकालाई फुटबल (सकर) प्रशिक्षण दिने कार्यक्रमलाई ‘सकर फर सक्सेस’ नाम दिएको हो। यो परियोजना गत वर्ष देखि सुरु भएको हो।
एआरयुले आठ कक्षा भन्दा मुनि अध्ययनरत बालबालिका लागि यो परियोजना लक्षित गर्दै आएको छ।
‘यस पहलको उद्देश्य फुटबलको सुन्दर खेल मार्फत युवाहरूलाई सशक्तीकरण गर्ने, शारीरिक स्वास्थ्य मात्र नभई टोली कार्य, नेतृत्व र अनुशासन जस्ता महत्त्वपूर्ण जीवन सीपहरूलाई पनि बढवा दिने लक्ष्य राखिएको छ।’ एआरयुले भनेको छ।
युवा खेलाडीहरूलाई फस्टाउनका लागि अवसरहरू उपलब्ध गराउने आफ्नो मुख्य उद्देश्य रहेको एआरयूको भनाइ छ। एथलेटिक्स प्रशिक्षणसँगै सामाजिक र शैक्षिक विकासलाई सम्बोधन गर्ने व्यापक दृष्टिकोणको विकास गराउने लक्ष्य बनाएको पनि एआरयुले जनाएको छ।
एआरयुले समावेशीकरण र सामुदायिक संलग्नतामा ध्यान केन्द्रित गर्दै, सफलताको लागि फुटबल कार्यक्रमले एक सहयोगी वातावरण सिर्जना गर्ने समेत अपेक्षा गरेको जनाएको छ।
‘जहाँ प्रत्येक सहभागीसँग उत्कृष्ट हुने मौका हुन्छ। सङ्गठन र स्वयंसेवकहरूसँग साझेदारी गरेर, एआरयुलेले पृष्ठभूमि वा सामाजिक आर्थिक स्थितिलाई ध्यान नदिई यसको प्रभाव सबैभन्दा बढी आवश्यक पर्नेहरूमा पुग्छ भन्ने सुनिश्चित गर्दछ।’ एआरयुको नयाँ भर्ना सम्बन्धी सूचनामा भनिएको छ।
संरचित कोचिङ, मेन्टरशिप, र स्रोतहरूमा पहुँचको माध्यमबाट, युवा फुटबल कार्यक्रमहरूको लागि मानक तय गरी खेलाडीलाई मैदान र बाहिर दुवै ठाउँमा आफ्नो पूर्ण क्षमतामा पुग्न सशक्त बनाउने विश्वास पनि एआरयुले लिएको जनाएको छ।
एसियन रिफ्युज युनाइटेडका सह-कार्यकारी निर्देशक/सीईओ रविन गुरुङका अनुसार यो वर्षको सिजन अप्रिल दुई तारिख बाट सुरु हुने छ।
गुरुङका अनुसार कार्यक्रममा सहभागी हुन तोकिएको फारम भर्नु पर्ने छ। फारम भर्दा एक जनाले सिजनको दुई सय ५० अमेरिकी डलर तिर्नु पर्ने छ। तर आर्थिक अभावका कारण कसैलाई पनि प्रशिक्षणमा सहभागी हुनबाट वञ्चित भने गराइने छैन।
‘हामी सबैलाई स्वागत गर्दछौ, कोही कसैलाई आर्थिक अभावका कारण भर्ना गर्न सङ्कोच मान्नु भएको छ भने हामीलाई सम्पर्क गर्न आग्रह गर्दछौ।’ सीईओ गुरुङले भने,’पैसाको कारण कोही पनि बालबालिका यो प्रशिक्षणबाट वञ्चित हुनु पर्दैन, उनीहरूका लागि हामी व्यवस्था गर्छौ।’
एआरयुले यो लिङ्कमा क्लिक गरेर आफ्नो बच्चालाई यस कार्यक्रममा भर्ना गराउन सकिने जनाएको छ। यस्तै यस विषयमा थप जानकारीको लागि एआरयुका कार्यक्रम संयोजक पर्सु अधिकारी वा प्रशिक्षक/ट्रेनर दिल के. मगरलाई सम्पर्क गर्न सकिने जनाएको छ।