अमेरिकाको हिन्दु बुद्ध मन्दिरमा वसन्त पञ्चमी (सरस्वती पूजा)
विष्णु शर्मा
बाल्टीमोर/ सनातनीहरूले मनाउने चाडपर्व प्रकृति, धर्म, अर्थ र विज्ञानसँग जोडिएर आएका हुन्छन् । विभिन्न ऋतुअनुसार वर्ष भरी नै विभिन्न चाडपर्वहरू मनाउने गरिन्छ । तिनको सामाजिक एवं वैज्ञानिक र दैनिक जीवनसँग निकट सम्बन्ध छ । यस्ता पर्वहरूले देवी देवताका स्वरूप एवं गुणलाई अनुसरण गरेका हुन्छन् । जस्तै: सम्बृद्धिकी प्रतीक लक्ष्मी, शक्तिकी प्रतीक दुर्गा र ज्ञान एवं विद्याकी प्रतीक सरस्वतीको पूजा गरिन्छ ।
आज सरस्वती पूजा । सरस्वती विद्याकी देवी । आजैदेखि बसन्तऋतु शरु हुने दिन । जसलाई वसन्त पञ्चमी एवं श्री पञ्चमी भनिन्छ । सरस्वतीलाई विभिन्न नामले पुकारिन्छ । जस्तै: भारती, शारदा, हंसवाहिनी, जगनमाता, कात्यायनी, बुद्धिदात्री, व्राह्मी, सावित्री, चन्द्रघण्टा, भुवनेश्वरी, गायत्री, बाग्देवी आदि ।
सेतो कमलको फूलमा बसेकी सरस्वती मायाकी खानी हुन् । गोरो वर्णकी शारदाले स्वेत वस्त्र धारणा गरेकी छन् । सधैँ मन्द मुस्कुराइरहेकी यी देवी सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी हुन्छिन् । यी सरस्वतीका चार हात छन् । पहिलो हातमा विणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला, छ । चौथो हात अवमुद्रामा रहेकी देवी सरस्वती भनेर वर्णन गरेको पाइन्छ ।
सरस्वतीमाताको प्रतित्कात्मक चित्र स्वरूप हातका लिएको वीणाले जीवन सुमधुर धुनसहितको सङ्गीत हो भन्ने जनाउँछ । पुस्तकले बुद्धि विकास र मालाले निष्ठा, सात्त्विकताको ज्ञान गराउँछ । स्फटिकले निश्छल, स्वच्छ, कन्चन भावलाई जनाउँछ । त्यसैले ब्रह्मा विष्णु महेश्वरद्वारा सदा पूजित माता सरस्वतीले सम्पूर्ण जडता र अज्ञानता, हटाउँछिन् भन्ने विश्वास राखिन्छ ।
अतः सङ्गीत, कला, विद्या, शिल्पकलाको सुरुवात गर्दा यिनै सरस्वतीको पूजा र वन्दनाबाट थालनी गरिन्छ । जसले ती क्षेत्रमा निर्पूणता प्राप्त गर्न सहज हुन्छ भन्ने मान्यता रहेको छ । यसै मान्यता अनुसार साना नानीहरूलाई पहिलो पटक अक्षर चिनाउँदा यसै दिनबाट सुरु गरिन्छ । नाक, कान छेड्न पनि यसै दिन गरिन्छ । ज्योतिष विज्ञान भन्छ यस दिन कुनै पनि पुण्डय कार्य गर्न साइत जुराउनु पर्दैन । यो दिन आफैमा उत्तम दिन हो ।
तर हामी आजभोलि चलनचल्तीका व्यवहार हेर्यौ भने जति लक्ष्मीका लागि दिपज्योती एवं किनमेल गर्दै भव्यता साथ मनाउँछौँ । ज्ञान जसले हरेक पलमा व्यक्तिलाई सही र गलत, असल खराबको भिन्नता, विवेकशीलताको मार्ग देखाउँछ उसको पूजा र आराधनामा कन्जुस्याइँ गरेका हुन्छौँ । यो ज्ञान भन्दा ठुलो सम्पत्ति हो भन्ने बुझाई प्रबल हुनु हो । देवीका स्वरूपहरू शक्ति, संवृद्धि र ज्ञान, आफैमा एकरूप हुन । जीवनका अपरिहार्य अङ्ग । समय र परिस्थितिमा विभिन्न रूपमा आफ्नो भूमिकाद्वारा हामीलाई मार्ग निर्देश गर्छन् । यो दिनेले भन्दा लिनेको इच्छामा भर पर्ने कुरा हो ।
यसै सन्दर्भमा हिन्दु बुद्ध मन्दिरमा सरस्वती पूजाको अवसरमा बिहानदेखि पूजा अर्चना हुने छ । यसै दिन सन्ध्या आरतीपछि ५ बजे सामूहिक पूजा अर्चना गर्ने व्यवस्था गरिएको छ । सबै सनातनीहरूले आफू र आफ्ना साना नानीहरू लिएर मन्दिरमा आएर पूजा अर्चना, वन्दना गरौँ । सरस्वती माताको वरदान लिऔँ । यससम्बन्धी विस्तृत जानकारी पण्डित कृष्णहरि घिमिरे ज्यूबाट पनि पाउन सकिने छ ।
सरस्वती पूजाको सबैमा हार्दिक मङ्गलमय शुभकामना ।















