एनआरएनएमा बेथितिको भण्डाफोर गर्ने कर्मचारी माथि कारबाहीको डन्डा !
पेन्सिल्भेनिया/ आधिकारिकताका लागि नेपाल सरकार सँग नै मुद्दा लडिरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को डा. बद्री केसी समूह अहिले अर्को आन्तरिक समस्यामा फसेको छ।
एनआरएनए कार्यकारी निर्देशक (सिइयो) राजेन्द्र कुमार रावत माथि उनी मातहतकी कर्मचारी सहायक निर्देशक बन्दना शर्माले गम्भीर आरोप लगाएकी थिइन्।
बन्दनाले विभिन्न कार्यक्रमका रक्सी र भूकम्प पीडितको राहत बाँड्न जाँदाका अनधिकृत खर्चहरूको बिलमा आफूलाई हस्ताक्षर गर्न दबाब दिएको भन्दै सबै पदाधिकारीहरूलाई सामूहिक इमेल पठाएकी थिइन्।
तर बद्री समूहको सचिवालय बैठकले सिइयोको बचाउ गर्दै बन्दनाको कामलाई गलत भनेको छ।
बैठकले संघको इमेल डेटाबेस दुरुपयोग गरी संघको कर्मचारी प्रशासन नियमावली विपरीत आफ्नो असान्दर्भिक व्यक्तिगत असन्तुष्टि सार्वजनिक गर्दै संघको साख गिराएको आरोप शर्मा माथि लगाएको छ।
एनआरएनए बद्री समुहका प्रवक्ता फणिन्द्र पन्तद्वारा जारी विज्ञप्तीको पूर्ण पाठ
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को तेश्रो अन्तराष्ट्रिय कार्यकारी सचिवालयको बैठक संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा शनिवार, (३ फेब्रुअरी, २०२४) को दिन भरर्चुल माध्यबाट सम्पन्न भयो ।
बैठकमा संघको केन्द्रीय सचिवालयमा कार्यरत सहायक निर्देशक बन्दना शर्माले संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई सम्बोधन गरि पठाउनुभएको इमेलमार्फत संस्थागत तथा व्यक्तिगत लाञ्छना लगाउने गरि विभिन्न सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएका विषयहरूबाट संघको ध्यानाकर्षण भइ बैठकमा गम्भिर रूपमा छलफल भयो।
शर्माले वर्तमान संस्थागत तरलताको फाइदा उठाउने मनसायले सचिवालयको इमेल प्रयोग गरि पदीय जिम्मेवारी र मर्यादा भन्दा बाहिर गई संस्थाको गोपनीयतामा समेत ख्याल नगरेको बैठकको निष्कर्ष छ । साथै, निज शर्माले सार्वजनिक गर्नुभएका विषयहरू संस्थाको मर्यादा विपरित सुनियोजित र कपोलकल्पित भएको बैठकको ठहर छ । केन्द्रिय सचिवालयका प्रशासनिक कर्मचारीले सोही मुताबिक अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयबाट निर्देशित काम गर्नुपर्ने भएकाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई सहायक निर्देशकले लगाउनु भएको नीतिगत सैद्दान्तिक मतभेदको आरोपपनि असान्दर्भिक छ र बैठकले संघको केन्द्रीय कार्यालयमा कार्यरत अन्य कर्मचारीलाई उच्च मनोबल सहित संघको कर्मचारी नियमावली, आर्थिक नियमावली र प्रचलित कानूनको अधिनमा रहि कार्य सम्पादन गर्न समेत अनुरोध गर्दछ ।
विश्वभर हुने विभिन्न साना ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा ककटेल डिनरको आयोजना गर्ने प्रचलन अनुरुप संघले समेत स्थापनाकाल देखि संघको विश्व सम्मेलनमा डिनर आयोजना गरिदै आएको सर्वविदितै छ । यस्ता डिनरमा संस्थाको पैसा खर्च नगरी कार्यक्रम प्रायोजकको खर्चमा आयोजना गरिने गरिएको छ। त्यसैले शर्माले इमेल मार्फत लगाउनु भएको आरोपमा सत्यता छैन् । त्यसैगरी शर्माले इमेल मार्फत भूकम्प पीडितको लागि राहत वितरण गर्न जाजरकोट र रुकुम पश्चिम जाँदा संस्थाको रकम खर्च भएको भन्ने भ्रामक सन्देश दिएर संस्थाको साख गिराउने काम गर्नुभएको देखिन्छ । राहत वितरणको क्रममा पदाधिकारीहरुले आफ्नो व्यक्गित खर्च स्वयं आफैले बेहोर्नु भएको जानकारी गराईन्छ ।
गैरआवासीय नेपाली संघको गत अक्टोवरमा सम्पन्न ११ औं महाधिवेशन तथा विश्व सम्मेलनमा संघले ५ करोड २९ लाख २१ हजार ३७७ रुपिया ५६ पैसा (उम्मेद्वार दर्ता शुल्क, सहभागी दर्ता शुल्क, स्पोन्सरहरुको सहयोगमा) सम्पूर्ण खर्च कटाएर २ करोड ६६ लाख २४ हजार ६८३ रुपिया ९० पैसा आम्दानी गरेको छ ।
गैरआवासीय नेपाली संघको जनवरी २१ – २२ २०२४ मा चन्द्रागिरीमा सम्पन्न बैठकलाई मितव्ययी बनाउन पदाधिकारीहरुले आफै दर्ता शुल्क तिर्नु भएको र अपुग रकम व्यक्तिगत तथा संस्थागत प्रयोजन मार्फत भुक्तानी गरिएको थियो ।
गैरआवासीय नेपाली संघका आम सदस्यहरु तथा संस्थाको सबै कर्मचारीले चाहेको समयमा संस्थाका अध्यक्ष, महासचिव लगायत सबै पदाधिकारीहरुसंग प्रत्यक्ष सम्पर्क र संवादको वातावरण सधै खुल्ला रहेपनि शर्माले गैरआवासीय नेपाली संघको इमेल डेटाबेस दुरुपयोग गरि संघको कर्मचारी प्रशासन नियमावली विपरित आफ्नो असान्दर्भिक व्यक्तिगत असन्तुष्टि सार्वजनिक गर्दै संघको साख गिराएको र संघको संवेदनशिल विषयहरुमा आमसदस्यहरु, दाताहरूप्रति अपमान गरेको ठहर गर्दै उहाँको कार्यभारलाई कर्मचारी नियामावली अनुसार व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
संघका हरेक गतिविधिहरु संघको विधान, संस्थाको आर्थिक नियमावली, नेपाल सरकारको आर्थिक नियमावली भित्र रहेर हुने गरेको सबैमा जानकारी समेत गराइन्छ ।
संघद्वारा संचालित कार्यक्रम तथा परियोजनाहरु अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र संघको अन्तर्राष्ट्रिय परिषद (आइसीसी) बाट नियम अनुसार पारित भएर मात्र कार्यान्वयन जाने परम्परा रहेको जानकारी दिदैं संघको क्रियाकलाप प्रति चासो, गुनासो र सकरात्मक सुझाव दिने सम्पूर्णमा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
सहायक निर्देशक बन्दनाको निलम्बन के हो ?
सचिवालयको बैठक लगत्तै बद्री समूहका आइसीसी सदस्य चीरन शर्माले आफ्नो अनलाइनमा बन्दनालाई निलम्बन गरिएको समाचार छापेका थिए। चीरन बद्री समूहका उपाध्यक्ष डा. हेमराज शर्माका सहोदर भाइ हुन्।
चीरनले उच्च स्रोत उल्लेख गर्दै सो समाचार छापेका थिए। समाचार प्रकाशित पछि बद्री समूहकै आइसीसी सदस्य तथा अस्ट्रेलियामा रहेका पत्रकार हेमन्त काफ्लेले सहायक निर्देशक निलम्बनको समाचार हटाउन भनेका थिए।
एनआरएनए बद्री समूहका प्रवक्ता फणीन्द्र पन्तले बनाएको फेसबुक ग्रुप च्याटमा यस्तो भनिएको थियो। जुन च्याट ग्रुपमा एनआरएनएको विषयमा कलम चलाउने अधिकांश पत्रकार सहित बद्री समूहका महासचिव गौरी जोशी पनि छन्।
सचिवालय बैठकको स्रोतको हवाला दिँदै समाचार प्रकाशित भए पछि आएको प्रवक्ताको विज्ञप्तिमा बन्दनालाई निलम्बन गरिएको उल्लेख छैन।
‘गैर आवासीय नेपाली संघका आम सदस्यहरू तथा संस्थाको सबै कर्मचारीले चाहेको समयमा संस्थाका अध्यक्ष, महासचिव लगायत सबै पदाधिकारीहरूसँग प्रत्यक्ष सम्पर्क र संवादको वातावरण सधैँ खुल्ला रहे पनि शर्माले गैर आवासीय नेपाली संघको इमेल डेटाबेस दुरुपयोग गरी संघको कर्मचारी प्रशासन नियमावली विपरीत आफ्नो असान्दर्भिक व्यक्तिगत असन्तुष्टि सार्वजनिक गर्दै संघको साख गिराएको र संघको संवेदनशील विषयहरूमा आमसदस्यहरु, दाताहरूप्रति अपमान गरेको ठहर गर्दै उहाँको कार्यभारलाई कर्मचारी नियमावली अनुसार व्यवस्थापन गर्ने निर्णय गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ।
समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा पनि प्रवक्ता पन्तले आफूहरूले कसैको जागिर नै खाने काम नगरेको बताए। ‘उहाँको यसै पनि करार अवधि सकिँदै छ, हामी उहाँको ससम्मान बिदाइ गर्न चाहन्छौ।’ पन्तले भने, ‘उहाँले अझै पनि अध्यक्ष र महासचिव सँग कुरा गर्नु भयो भने करार थपिन सक्छ।’
‘करार सकिँदै छ, काम गर्ने वातावरण छैन भनेर आफै भन्नु भएको छ, उहाँको करिअरमा फरक पर्न सक्छ स्वाभाविक बिदाइ नै गर्न चाहन्छौ, निलम्बन गरेको होइन।’ पन्तले भने।
तर आइसीसी सदस्य चीरनले प्रवक्ताले सूचना लुकाएको आरोप लगाएका छन्। ‘प्रवक्ताले सूचना लुकाएर यस्तो आयो छानबिन हुदैछ रे।’ चीरनले ग्रुप च्याटमा भनेका छन्,’प्रवक्ताको जागिर जान सक्छ।’
सहायक निर्देशक बन्दनाले सिइयो माथि लगाएको आरोप यस्तो थियो
श्री कार्यकारी निर्देशक ज्यू,
गैरआवासीय नेपाली संघ,
बालुवाटार, काठमाण्डौ
बिषय: गम्भीर ध्यानाकर्षण तथा सहजिकरणको अपेक्षा।
तपाईले २६ जनवरी २०२४ को म लगायत सचिवालयका अन्य कर्मचारी श्री रबिना महर्जन, श्री कुनाल मिश्र र श्री निरज महर्जनलाई लेख्नु भएको “Payment process of face to face ICC meeting” शिर्षकको इमेलको जवाफ मैले २८ जनवरी २०२३ मा दिएको थिएँ। मेरो सो इमेलको जवाफ हिजो ३१ जनवरी २०२४ को इमेल मार्फत प्राप्त भयो। यसको लागि म तपाईलाइ धन्यवाद दिन चाहन्छु। तर तपाईको यो इमेलले मलाई झन गम्भीर बनाएको छ किनकि यसले अरु थप प्रश्न र आयामहरू सामुन्ने ल्याएको छ। एक त मैले बारम्बार उठाएका नैतिकताका प्रश्नहरुलाई यो इमेलले पुष्टि गरेको छ भने अर्को तिर यदि मैले यो विषयहरु नउठाएको भए यी पुराना नैतिकताको दृष्टिकोणबाट प्रश्न गर्न सकिने कृयाकलापहरु निरन्तर जारीनै रहने रहेछन भन्ने कुरालाई पुष्टि गरेको छ। अब यो पृष्ठभूमिमा एक नयाँ अवस्थाको सृजना भएकोले म यो इमेल मार्फत केहि गम्भिर विषयहरु नयाँ सिराबाट उठाउन खोज्दैछु।
एनआरएनए संसार भरि छरिएर रहनु भएका ८० लाख भन्दा बढी नेपालीलाई आफ्नो मात्रीभूमीसंग जोडिन अवसर प्रदान गर्ने एक मात्र साझा परोपकारी सामाजिक संस्था हो जसको अस्तित्वलाई नेपाल सरकारको ऐन २०६४ ले नै प्रत्याभूत गरेको छ। नेपाल सरकारले यस संघलाई आफ्नो एक बिश्वासिलो साझेदारको रूपमा लिई नेपालको बिकासको महत्वपूर्ण परियोजनाहरूमा हातेमालो गर्दै आएको छ। यसकारण नेपाल भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली र नेपाल सरकारलाई यस संस्थासंग धेरै ठूलो आशा र आकांक्षा छ, जुन स्वाभाविक हो।
मैले कार्यकारी निर्देशकको पदमा आवेदन दिंदा संसारभरबाट शिक्षा, सिप, ज्ञान आर्जन गर्नु भएका हाम्रा गुणी नेपाली दाजू-भाई तथा दिदि-बहिनीसंगको भेटघाट र अन्तरक्रियाबाट म स्वयम् आफैं तथा सचिवालय र एनआरएनएका सरोकारवालाका लागि “Knowledge Transfer” को ठूलो मौकाको अपेक्षा राखेको थिएँ। एनआरएनएलाई मैले सन्सार भरमा सिकिएका उत्तम अभ्यासहरू “Best Practices” को केन्द्रको रूपमा लिन्दै यहाँबाट सिक्ने अवसर पाईन्छ भन्ने बारेमा धेरै आशावादी थिएँ । यहि नै एनआरएनएसंग आवद्ध हुने मेरो निर्णय र उत्साहको प्रमुख कारण थियो। मैले त्यो पद पाउन सकिन जसका कारण तपाई लगायत अन्य व्यक्तिहरूलाई प्रष्ट रूपमा जानकारी छ। मेरो लागि पद भन्दा पनि एनआरएनएसंगको आवद्धता महत्व राख्दथ्यो। त्यसैले, पुन: मलाई सहायक निर्देशकको पदमा नियुक्ति दिन संघको तात्कालिन कार्यकारी बोर्डले महासचिव श्री गौरीराज जोशीज्यू मार्फत खबर पठाउँदा मैले ज्यादै उत्साहका साथ उक्त पदमा आफ्नो स्वीकृति जनाई, १८ अगस्त २०२३ मा संघमा नियुक्ति लिएकि थिएँ।
संस्थामा म आवद्ध भएदेखि संस्थाको उद्देश्य अनुसार र तपाईंको निर्देशन अनुसार नै काम गर्दै आईरहेकी थिएँ। तर केहि समय यता भएका घटनाक्रमको आधारमा, मेरो उत्साहमा ह्रास आउने डरले म यो निवेदन प्रेसित गर्दै छु। गत अक्टोबरमा होटल सोल्टीमा भएको कार्यक्रम पश्चात तपाईं र मेरो बिचमा केहि सैधान्तिक र नीतिगत बिषयलाई लिएर बैचारिक असहमति हुँदै आईरहेको तपाईलाई अवगतै छ। तथापि, तपाई यति धेरै संस्थाहरूबाट अनुभव बटुलेको मान्छे कुनै समयमा परिस्कृत सोच राखी अवश्य नै संस्थाको हितमा हुने निर्णय गर्नु हुनेछ, संस्थाको उद्देश्य र मर्म अनुसार कामहरू गर्नु हुनेछ भन्ने बिस्वासका साथ म शान्त रही, मैत्रीपूर्ण ढंगले, संयमता अपनाउँदै दिईएको काम आदरपूर्वक गर्दै आएकी थिएँ। साथै, केहि आर्थिक मामिला सम्बन्धित बिषयमा अध्यक्षज्यू तथा महासचिवज्यूलाई पनि मैले दिएका सुझावहरुको बारेमा जानकारी गराईदिनुहुन बिनम्र अनुरोध समेत गरेकी थिएँ। तर त्यतिका अनुभवका बावजूद तपाईले संस्थामा त्यति गहन रूपमा “Best Practices” को कार्यन्वयन गर्नु भएन र मेरो पटक-पटकको सुझावलाई नजरअन्दाज र वेवास्ता गर्नु भयो। त्यसैले पनि सम्पूर्ण आदरणीय पदाधिकारीज्यूहरू र सचिवालयका कर्मचारीहरूको जानकारीको लागी र रेकर्डको लागी म यो इमेल कपि गर्न बाध्य भएकी छु। हामी बिचको यो सैधान्तिक र नीतिगत असहमतिको बारेमा वहाँहरूले थाहा पाउन अब जरूरी भएको मैले महसूस गरेकी छु। यस पश्चात पनि मैले उठाएका बिषयको सुनुवाई नभएको खण्डमा म संबन्धित निकाय समक्ष उजुरी समेत गर्न हिच्किचाउने छैन। तपाईको तुलनामा मैले नै बढी “Best Practices” कायम राखेको मलाई बिस्वास छ।
यो संघको परिकल्पना र स्थापना केहि एनआरएन अग्रजहरूले जुन उद्देश्य राखी गर्नु भएको थियो र जसरी यसलाई लाखौ गैरआवासीय नेपाली दाजु-भाई, दिदि-बहिनीहरूको रगत र पसिनाको कमाईले २०सौं वर्षदेखि सिंचित गरिदै यहाँसम्म ल्याईएको छ, त्यसको यथेस्ट सम्मान र सुरक्षा गर्नु तपाई-हामी सबैको नैतिक दायित्व र कर्तब्य हो। यसरी प्राप्त दानको उचित सदुपयोग गर्नु र गराउनु सचिवालयको हरेक कर्मचारीको र सिंगो संस्थाको जिम्मेवारी हो।
हाम्रा बिमति रहेका बिषयहरू के-के हुन् त भन्ने बारेमा पनि यहाँ सबैको जानकारीको लागि मोटामोटी रुपमा लेख्न जरूरी सम्झिएकी छु।
मलाई दिईएको कामको विवरण (Job Description) अनुसारको कार्यहरू प्रत्यायोजित नगरिएको बारे: म संस्थामा आवद्ध हुँदा संघको निर्वाचन र अन्य महत्वपूर्ण कार्यक्रमको तयारी शुरु भएको थियो। मलाई अन्य सबै कामका जिम्मेवारी दिनुभयो तर निर्वाचनको कुनै पनि “Planning Meeting” लगायत कुनै पनि काममा सहभागी नगराई निर्वाचन सम्बन्धित कुरामा जान्न-बुझ्नका निमित्त प्रश्न गर्दा, “फेसबूकमा सबै छ त, त्यसैबाट सबै थाहा पाईन्छ नि” भन्ने जवाफ दिनु हुन्थ्यो, जबकी तपाईंको तत्काल (immediate) मुनिको कर्मचारी भएको हैसियतमा मैले हरेक कुरा बुझ्न पाउनु मेरो अधिकार क्षेत्रमा नै पर्छ र मेरो पदको काम-कर्तब्य भनेको तपाईंको कुनै कारणबश हुन सक्ने गैर हाजिरिमा मैले सचिवालयको जिम्मेवारी लिने हो। त्यसको लागि पनि मेरो उचीत तालिम गर्नु, तालिम लिन सक्ने वातावरण बनाउनु र मार्गदर्शन गर्नु, मलाई सम्पूर्ण “Planning Meetings” मा सहभागी गराउनु तपाईंको पदीय दायित्वमा पर्दछ।
सुरुवाती दिनहरूमा मसंग सल्लाह गर्ने, मलाई सचिवालयका कर्मचारी र अन्य सरोकारवालासंगको बैठकमा सहभागी गराउने जस्ता काम गर्नुभएको थियो तर चुनाव पछिका दिनहरू, प्रमुखत: गत अक्टोबरमा होटेल सोल्टी काठमाडौंको कार्यक्रममा बिशेष गरि मदिरामा भएको खर्च सम्बन्धमा, ट्याक्सीको बिलको बारेमा मैले उठान गरेका विषयहरू र रात्रि भोजको मदिराको बिलमा हस्तास्क्षर नगर्ने र आउँदा दिनमा कुनै पनि कार्यक्रममा मदिरा सम्बन्धितका बिलमा हस्ताक्षर नगर्ने निर्णय तपाईलाई सुनाए लगत्तै मलाई मैले गर्दै आएका कामबाट पनि अलग राख्नु भयो। सो रात्रि भोजको आयोजना गर्दा मदिराको खर्च समेत संस्थाको कोषबाट तिर्ने निर्णय सहि होइन भन्ने अडान राखी बिलमा हस्ताक्षर गर्न अस्विकार गरे पश्चात म प्रशासनिक प्रमुखलाई संलग्न नगरी प्रशासनका अन्य कर्मचारीसंग मात्रै सर-सल्लाह गरी प्रशासनिक प्रमुखलाई केवल निर्णय सुनाउने काम गर्न थाल्नु भयो।
I have adequate professional experience and capacity to understand such systematic cornering and I recognize it as one of the forms of workplace harassments executed in a very subtle manner. This has disturbed me profoundly. Very few can perform in such an antagonizing work environment.
संस्थाको गाडी किन्ने बिषयलाई लिएर पनि हामीमा फरक मत रह्यो। गाडीको प्रयोजन र खर्चको विश्लेषण गरेर मात्रै गाडी किन्ने बिषयलाई अगाडी बढाउनु पर्छ भन्ने मेरो सुझाबलाई तपाइँको निर्देशन मानेन भनेर प्रशासनको अन्य कर्मचारीलाई लगाई यस बिषयमा पदाधिकारीसंग अध्यक्षलाई अनुरोध गरिदिन लबिंग (Lobbying) गर्ने काम गर्नु भयो। गाडी किन्ने कुरामा हामी दुइबीच मुलभूत रूपमानै भिन्न मत थियो। तपाई गाडी चढ्दा सचिवालयको र सचिवालयको कर्मचारीको गरिमा बढेको देख्नु हुन्छ भने म त्यसको बिपरित सचिवालय र कर्मचारीको कामले गरिमा बढ्नेमा बिश्वास गर्छु। गाडीको बिषय पनि दानमा प्राप्त रकमको सहि सदुपयोगकै बिषय थियो जुन तपाईंले ज्यादै व्यक्तिगत रूपमा लिनु भयो।
जाजरकोटमा राहत बाँड्न जाँदाको खर्चको बिषय: यसमा पनि मेरो असहमति नै थियो र मैले सम्पूर्ण टोलीको “Travel Cost, Food and Accommodation” राहतको निम्ति प्राप्त रकमबाट चलाऊन नहुने सुझाएको थिएँ। तपाई “Probation Period” मा हुनुहुन्छ, “अनि जे कुरामा पनि असहमति राख्दा तपाईलाई अप्ठ्यारो पर्न सक्छ; यसमा त मदिराको बिल छैन नि” भनेर दवाब दिनु भयो। मैले अध्यक्षज्यू र महासचिबज्यू समक्ष यो कुरा राख्ने कुरा गर्दा, “You are violating the chain of command” भन्नु भयो। यो सुझाव मुख्यत: अहिलेको परिस्थितिमा संस्था र बोर्डको हितमै थियो। तपाईं अध्यक्षज्यू र पदाधिकारीज्यूहरूलाई सहि सुझाव दिने पदमा हुँदा पनि दिई राख्नु भएको छैन, त्यसमा पनि मलाई आपत्ति छ।
मैले आर्थिक मामिला बारेमा प्रतिकार गरें, मलाई हस्ताक्षर नगरे पनि हुन्छ भनेर छुट दिनु भयो र अरु कुनै तरिकाले मिलाउने आश्वासन दिनु भयो। तर म बाहेक सचिवालयका अन्य कर्मचारीलाई त्यो मदिराको बिलमा हस्ताक्षर गर्न लगाउनु भयो। मैले यसमा पनि असहमति जनाउंदै यस्तो “unethical practice” मा सचिवालयका अन्य कर्मचारीलाई पनि सामेल नगराउनुस् भन्ने सुझाव दिएँ। सबै प्रतिकार गर्न सक्छन वा चाहन्छन भन्ने छैन तर तपाई सम्पूर्ण कर्मचारीको प्रतिनिधी भएकोले यस्तो प्रकारको विवाद हुने, अडिटमा “Non-Compliance” हुने र नैतिक रूपमा पनि सहि नभएको काममा कर्मचारीलाई समावेश गर्नु तपाईंको पदीय मर्यादाको बिपरित हो। तर यति अनुरोध गर्दा गर्दै पनि तपाईंले यस्ता बिल प्रमाणिकरण गर्न लगाउनु भयो। मेरो यति धेरै पटकको सुझाव र प्रतिकारका बावजूद तपाईले मलाई चंद्रागीरिको १ लाख माथिको मदिराको बिल सहितको अन्य बिल प्रमाणिकरण गरि भुक्तानीको लागि सिफारिस गर्न निर्देश गर्नु भयो। तत्पश्चात मैले यो बिषय लिखित रूपमानै तपाई, सचिवालयका सम्पूर्ण कर्मचारी र यस संस्थाका सम्पूर्ण आदरणीय पदाधिकारी समक्ष राख्नु उचित सम्झिएँ।
कार्यकारी निर्देशकको दायित्व रणनीति तयार गर्ने हो र तपाईं यसका निमित्त सक्षम व्यक्ति हुनुहुन्छ। तर दुखको कुरा तपाईंले तयार गर्ने रणनीति सम्पूर्ण संस्थाको दिगो बिकासको लागि भन्दा पनि एक व्यक्ति लक्षित हुन गयो। जहाँ तपाईंले मलाई, मेरो क्षमतालाई साथमा लिएर कार्यालयको सुदृढिकरण गर्ने र सबै कर्मचारीको सबलीकरण गर्नेमा जोड लगाउनु पर्नेमा मलाईनै कार्यालयको कामबाट बन्चित गराउन थाल्नु भयो। यो न मेरो, न तपाईको न त संस्थाको हितमा छ।
हामी बिचको यो बैचारिक अनमेलका बावजूद म समस्या सुल्झाएर अगाडी बढ्न चाहन्थे। त्यसैले पनि मैले तपाईंसंग बारम्बार यी बिषयमा गम्भीरतापूर्वक सोचिदिनुहुन अनुरोध गरे। यो पत्र प्रेसित गर्नुको प्रमुख उद्देश्य पनि सहजीकरणको अपेक्षा गर्दै हामीलाई नेतृत्व प्रदान गर्ने नेतृत्वदायी अंगलाई जानकारी दिने नै हो। किनकि मैले दिएको सुझाव र सल्लाहलाई तपाईंले ज्यादै नै हल्का रूपमा लिई, “यहाँ यस्तै चलन रहेछ बन्दनाजी” भन्ने गैर-जिम्मेवार अभिव्यक्ति दिई आफ्नो पदको मर्यादा समेत राख्नु भएन। यति संयमताका बावजूद तपाईंको मप्रतिको पछिल्लो समयको बोलि-व्यबहारले गर्दा तपाईंले सुझाएको “Probationary Review” तपाईसंग गर्न मलाई सहज महसूस अब भईरहेको छैन। मलाई तपाईंले गर्ने वा तपाईको संलग्नतामा गरिने समिक्षा “Independent and Unbiased” हुन्छ भन्नेमा आशंका छ। यो आशंका निराधार भने छैन किनकि “स्याल कराउनु र कुखुरा हराउनु” भनेको जस्तै यो समिक्षा मैले माथि उठाएका गम्भिर विषय पश्चात गर्न लाग्नु भएको छ भने मेरो परिक्षण कालको एक महिना पनि बाकि नहुंदा यो समिक्षा गर्न लागिएको छ। म सहमत छु कि परिक्षण कालको समिक्षा हुन्छ र गरिनु पर्छ. तर यदि “Best Practices” को कुरा गर्नु हुन्छ भने यस्तो समिक्षा या त “Mid-term Review” को रूपमा गरिन्छ ताकी केहि सच्याएर अगाडी बढ्नु पर्ने हो भने यथेस्ट समय रहन्छ. या त केहि समस्या नै छैन भने परिक्षण कालको अवधि समाप्ति पछी मात्र गरिन्छ। तपाईले गर्न लाग्नु भएको अहिलेको “Probationary Review” पूर्व उल्लेखित दुवै अवस्थासंग मेल खादैन र यसको कुनै औचित्य छैन। तसर्थ मैले “Independent Review” को माग राख्नु मेरो अधिकारको बिषय बनेको छ।
माथि उल्लेख गरिए अनुरुप नियतवश मलाई लक्षित गरिए पछि मेरो लागि काम गर्ने वातावरण न्युन हुन थाल्यो र मैले यसको छलफल “Higher Management” संग गरी यसको निकास खोज्नु पर्छ भन्ने सोचाईले मिति ३१ डिसेम्बर २०२३ गतेको इमेल मार्फत संघका अध्यक्षज्यूलाई, “अध्यक्षज्यू र महासचिवज्यू” संग भेटेर कुरा गर्नको लागि समय माग गरेकी थिए। अध्यक्षज्युको अनुकुलता मिलाएर मलाई समय दिनुहुनेछ भन्नेमा म विश्वस्त र प्रतिक्षारत छु।
जवसम्म यो बिबाद निरूपण हुदैन तबसम्म म यो समिक्षामा भाग लिन असमर्थता जनाउँछु। साथै मेरो पदको अधिकार क्षेत्रभित्र पर्ने सम्पूर्ण काममा मलाई सहभागी गराउनु हुन म बिनम्र अनुरोध गर्दछु।
धन्यबाद।
भवदीय,
बन्दना शर्मा
सहायक निर्देशक
गैरआवासीय नेपाली संघ