ह्यारिसबर्ग वरपरका नेपाली भाषीलाई तेल तथा बोसो ढलमा नफाल्न टाउनसिपको अनुरोध

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग/ पेन्सिल्भेनिया राज्यको ह्यारिषबर्ग वरपर बसोबास गर्ने नेपाली भाषी समुदायलाई भान्छामा उत्पादन हुने चिल्लो फोहोर व्यवस्थामा विशेष सजगता अपनाउन स्थानीय अधिकारीले अनुरोध गरेका छन्।
उनीहरुले यस्तो गर्दा ढलको व्यवस्थापनमा असर परेको बताएका छन्। अधिकारीले यस्तो कार्य अब नस्वीकार्ने पनि भनेका छन्।
उनीहरूले तातो तेल र बोसो किचन वा बाथरुमको सिङ्कमा नफाल्न आग्रह गरेका छन्। सुस्केहन्ना टाउनशिपको तर्फबाट भुटनीज कम्युनिटी ह्यारिसबर्ग (बीसीएच)लाई पत्र लेख्दै यस्तो आग्रह गरेका हुन्।
बीसीएचका अध्यक्ष तिलक निरौलालाई पठाएको पत्रमा तेल, बोसो लगायतका फोहोर व्यवस्थापन कसरी गर्ने भनेर सचित्र अर्थाइएको छ।
टाउनसिपका अधिकारीले नेपाली र अंग्रेजी दुवै भाषामा फोटो सहित चिल्लो फोहोर व्यवस्थापनबारे सुझाव दिएका छन्।

लोअर प्याक्सटन टाउनशिप सँगको सीमा नजिकै ढल प्रणालीको निरीक्षण गर्दा खाना पकाउने ग्रीसले भरिएको भेटिएको पत्रमा उल्लेख छ। सो क्षेत्रमा नेपाली भाषी समुदायको बाक्लो बसोबास रहँदै आएको टाउनसिपको भनाई छ।
‘दुर्भाग्यवश, हामी यी परिस्थितिहरूमा स्वीकार गर्न असमर्थ छौँ, र यसले भविष्यमा विकासको लागि समस्या खडा गर्न सक्छ।’ टाउनसिपको पत्रमा भनिएको छ।
खाना पकाउँदा उत्पादन हुने चिल्लो पदार्थलाई फ्याँक्ने उत्तम तरिका भनेको यसलाई चिसो राख्नु र नियमित फोहोरमा नै फाल्न सुझाव दिइएको छ।