पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई गोप्य सूचना चुहावट गरेको आरोपमा १०–१० वर्षको जेल सजाय सुनाइएको छ ।
आधिकारिक गोप्य ऐन अन्तर्गत गठित विशेष अदालतले दुवैलाई गोप्य सूचना चुहावट गरेको अभियोगमा दोषी ठहर गरेको हो । इमरान खान (७१ वर्ष) र शाह महमूद कुरैशी (६७ वर्ष) रावलपिंडीको अडियाला जेलमा बन्द छन् । इमरान खान र शाह महमूद कुरैशी जेलबाटै अदालतमा उपस्थित भएका थिए ।
पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खानलाई सार्वजनिक सभामा गोप्य कूटनीतिक दस्तावेज सार्वजनिक गरेकोमा दोषी ठहर गरिएको हो । यो घटना इमरान खानको प्रधानमन्त्रीको कार्यकालमा भएको हो ।
सार्वजनिक भएको कागजात अमेरिकास्थित पाकिस्तानी दूतावासले पठाएको हो । उक्त कागजात इमरान खानबाट बरामद नभएको बताइएको छ । गोप्य कागजात सार्वजनिक गर्दै इमरान खानले अमेरिकाको इशारमा आफ्नो सरकार ढाल्ने षड्यन्त्र रचिएको आरोप लगाएका थिए । यस घटनाको केही समयपछि, अप्रिल २०२२ मा, इमरान खानको सरकार अविश्वासको मत मार्फत सत्ताबाट हटाइएको थियो । इमरान खान सत्ताबाट हटाइएपछि उनीविरुद्ध १५० भन्दा बढी मुद्दा दर्ता भएका छन् ।
इमरान खान विरुद्धको दोस्रो मुद्दामा दोषी ठहर भएका छन् । यसअघि ५ अगस्टमा इमरान खानलाई तोशाखाना मुद्दामा पनि दोषी ठहर गरिएको थियो । तोशखाना मुद्दामा इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो ।
इमरान खानको पार्टी पीटीआईले यो निर्णयको आलोचना गरेको छ । पीटीआईले एक विज्ञप्ति जारी गर्दै आफ्नो कानूनी टोलीले यो निर्णयलाई उच्च अदालतमा चुनौती दिने बताएको छ । मुद्दाको सुनुवाइमा सञ्चारमाध्यम वा सर्वसाधारणलाई सहभागी हुन नदिने र हतारमा फैसला सुनाएको पार्टीले आरोप लगाएको छ । पीटीआईले मार्च–अप्रिल २०२२ मा भएको घटनालाई कुनै पनि अदालतको सुनुवाइले परिवर्तन गर्न नसक्ने बताएको छ । यसैगरी पार्टीले फेब्रुअरी ८ तारिखमा हुन लागेको आमनिर्वाचनमा ‘वास्तविक स्वतन्त्रता’को पक्षमा मतदान गर्न जनतालाई अपिल गरेको छ ।