ह्यारिसबर्गमा मनाइयो माघे संक्रान्ति, आयोजक उत्साहित, अबको लक्ष्य ‘मगर भाषा पाठशाला’
ह्यारिसबर्ग/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्ग वरपर बसोबास गर्ने मगर समुदायले माघे संक्रान्ति सामूहिक रूपमा धूमधाम मनाएका छन्।
बाक्लो हिमपात पछिको कठ्याङ्ग्रिँदो चिसो मौषमका बिच पनि सयौँको सङ्ख्या नेपाली भाषीले एकै ठाउँमा भेला भई आइतबार (जनवरी २१ तारिख) ह्यारिसबर्गमा माघे संक्रान्ति मनाएका हुन्।
यो अवसर ग्रेटर ह्यारिसबर्ग मगर अर्गनाइजेसन (जीएचएमओ) ले जुराएको हो।
आइतबार बिहान दश बज्दा नबज्दै सहभागीहरू नर्थ थर्ड स्ट्रेटमा रहेको हलमा भेला हुन थालेका थिए। नेपाली र नेपाली भाषी भुटानी समुदायका पाका उमेरका मात्र होइन युवा युवति र बालबालिकाहरू पनि मौलिक पहिरनमा कार्यक्रम स्थल पुगेका थिए।
कार्यक्रममा मगर मात्र होइन अन्य समुदायको पनि बाक्लो उपस्थिति थियो। ११ बजे देखि स्टेजमा सांस्कृतिक कार्यक्रम शुरु भएको थियो। परम्परागत भेषभुषामा रहेका बालबालिका, युवा युवतिहरूले नृत्य प्रस्तुत गरेका थिए।
आमा समूहको टोलीले पनि नेपाली मौलिक नृत्य प्रस्तुत गरेका थिए। केही गायक गायिकाले गीत गाएर माहौललाई रोमाञ्चित बनाएका थिए। लीला पुवर मगरले भाषाको मौलिक गीत पस्किएकी थिइन। उनले गीत गाउँदै गर्दा मुस्कान बलम्पाकीले मगरले हार्मोनियममा साथ दिएका थिए। सो बेला ग्रेटर ह्यारिसबर्ग मगर अनर्गनाइजेशनका अध्यक्ष नर बलम्पाकी मगर मादल बजाउन आफै स्टेज उक्लिएका थिए।
साँझ पाँच बजे सम्म निरन्तर स्टेजमा सांस्कृतिक कार्यक्रम चलिरहेको थियो।
कार्यक्रममा सांस्कृतिक मात्र होइन खानाको पनि राम्रो व्यवस्था थियो। हलको मुख्य ढोका देखि नै माघे संक्रान्ति मेलाको झलक दिने प्रयास गरिएको थियो।
सहभागीहरू आपसमा शुभ कामना साटासाट गर्दै, सांस्कृतिक कार्यक्रम हेर्दै मौलिक खाना खान व्यस्त थिए। सहभागीलाई कुनै असजिलो नहोस् भन्नेमा स्वयमसेवकहरु सचेत देखिन्थे।
कार्यक्रममा थोरै र छोटा भाषण समेटिएका थिए। वक्ताहरू हलको माहौलमा आफै सचेत देखिन्थे। भुटनीज कम्युनिटी ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाले धर्म र संस्कृति जोगाउन अर्गनाइजेशनले खेलेको भूमिका प्रति आभार व्यक्त गरे। ‘धर्म र संस्कृति बचाउन यहाँहरूले समुदायमा गरेको योगदान अत्यन्त प्रशंसा योग्य छ।’ उनले भने।
निरौलाले समुदाय धर्म र संस्कृतिमा मात्र नभएर अब आर्थिक रूपमा पनि धनी हुन थालेको बताए।
‘हामी धार्मिक र सांस्कृतिक रूपमा धनी छौ। हाम्रो समुदायले आर्थिक क्षेत्रमा पनि उल्लेख्य योगदान गरेको छ।’
उनले काउन्टीको तथ्याङ्कले पनि त्यो देखाएको बताए। ‘डेरी स्ट्रिटमा सन् २००५ मा दैनिक रूपमा ५० हजार राजस्व हुँदो रहेछ गत डिसेम्बरमा हाफ मिलियन दैनिक राजस्व हुन्छ, त्यसमा ४७ प्रतिशत भुट्नीजहरुले गरेको रहेछ भनेर काउन्टीले रिपोर्ट निकाल्नु भएको छ।’ निरौलाले भने,’हामी सबैको योगदान हो सबैलाई बधाई दिन चाहन्छु।’
यस्तै कार्यक्रममा शुभ कामना मन्तव्य दिँदै व्यवसायी नेत्र आचार्यले नयाँ पुस्तालाई पनि आफ्नो संस्कृतिको बारेमा हिँडाउनु पर्नेमा जोड दिए।
‘आज यति धेरै भाइ बहिनी संलग्न गाना र नृत्य हेरेपछि हाम्रो समाज त्यतिकै कला र संस्कृति साहित्य भाषामा धनी छ।’ आचार्यले भने,’ त्यसलाई जोगाउन गर्नु भएको योगदान सराहनीय छ आउने भाइ बहिनीहरूलाई यही बाटो हिँडाउनु हुने छ भन्ने आशा लिएको छु।’
अर्गनाइजेशनका अध्यक्ष नर बलम्पाकी मगरले सहभागी सबैलाई धन्यवाद दिए। ‘यो मगरको मात्र होइन सबै नेपालीको चाड हो, आफ्ना बाबुनानीहरुलाई त्यसरी नै सिकाउनु होला।’ बलम्पाकीले भने।
‘आजको कार्यक्रमबाट हामी अत्यन्त उत्साहित भएका छौ।’ कार्यक्रम पछि समाज टाइम्स सँगको कुराकानीमा बलम्पाकीले भने, ‘सबै जना आउनु भयो, जाडो नभनी आउनु भयो, खुसी लाग्यो, मज्जा आयो, पहिलाको भन्दा राम्रो पनि भयो।’
अध्यक्ष बलम्पाकीका अनुसार यस पटक सहभागीको सङ्ख्या पनि बढेको हो। ‘सहभागी दाजुभाइ दिदीबहिनीहरूले साथ दिनु भयो, सहभागिता राम्रो हो। भित्र हलमा तीन सय कुर्ची राखिएको थियो त्यो भरिएर बाहिर पनि थुप्रै मान्छे थिए। आउने जाने दिनभर भयो पाँच सय भन्दा बढीले कार्यक्रममा सहभागी भए भन्ने हाम्रो अनुमान छ।’ उनले भने।
खाना पनि समुदायकै घर घरबाट आएको उनले बताए। ‘हामीले बोर्ड सदस्यहरूलाई भाग लगाएर जिम्मा दिएका हौ अन्य सदस्यहरूलाई आफू अनुकूलका खाना ल्याउन होला, माघे संक्रान्ति मनाउन घर घरमा जे जे खानु हुन्छ त्यही ल्याउन भनेका थियौ, मौलिक खाना नै आयो।’
अर्गनाइजेशनका प्रेस तथा प्रचार संयोजक प्रताप समाल मगरले पनि यस पटकको कार्यक्रमले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए। ‘कार्यक्रम राम्रो भयो, सहभागिता पनि यस पटक गत वर्षहरू भन्दा धेरै थियो हामी खुसी छौ।’ उनले भने।
अबको लक्ष्य मगर भाषा पाठशाला
अर्गनाइजेशका अध्यक्ष बलम्पाकीले आफूहरूको अबको लक्ष्य मगर भाषा पाठशाला रहेको बताएका छन्।
‘२०२१ देखि माहौल अलिक तातेको हो।’ अर्गनाइजेशनका स्थापनाकाल देखि नै अध्यक्ष रहँदै आएका बलम्पाकीले भन्छन्, ‘गत डिसेम्बरमा सम्पन्न महाधिवेशनमा ह्यारिसबर्गमा गुम्बा छ मन्दिर छ, हामीले मगर भाषा र संस्कृति बचाउन पाठशाला चलाउन पर्छ भनेर सल्लाह गरेका छौ।’
उनले सदस्यहरूबाट सकारात्मक जवाफ पाएको बताए। ‘साथीहरू सबै सकारात्मक हुनुहुन्छ भोली कार्यक्रम गर्न सकिएला नसकिएला तर अब हामीले जातीय उत्थान, भाषा, संस्कृतिको जगेर्ना गर्न पाठशाला खोल्नु पर्छ भन्नेमा छौ।’ छैटौँ पटक आयोजना गरिएको माघे संक्रान्ति कार्यक्रम सफलता पूर्वक सम्पन्न भए पछि उत्साहित बलम्पाकीले भने।
अर्गनाइजेशन सन् २०१८ को जनवरी २८ तारिख स्थापना भएको छ। ग्रेटर ह्यारिसबर्ग क्षेत्रमा रहेका २१ घरधुरीबाट शुरु भएको यो अर्गनाइजेशनमा अहिले एक सय भन्दा बढी घरधुरी जोडिएका छन्।
‘पाँच हजार १८ वर्ष लामो मगर जातिको पहिचान बचाइराख्न सबै मिल्नु पर्छ भन्ने छ। कुन देशबाट अमेरिका आयो भन्दा पनि सबै मगर एक हुनु पर्छ भन्ने हाम्रो उद्देश्य हो।’ बलम्पाकीले भने।
उनका अनुसार अर्गनाइजेशनमा नेपाल, भुटान र अन्य मुलुकबाट आएका मगर समुदायका सदस्य छन्।’
भुटानको सर्वाङ्ग जिल्ला काफ्लेटारमा जन्मिएका ५१ वर्षीय उनलाई भाषा हराउँछ की भन्ने ठुलो चिन्ता पनि छ।
‘भाषा बचाउन पर्छ, सभ्यता बचाउन पर्छ, अब त नेपाली पनि हराइसक्यो भन्ने भयो, एक आपसमा दुख- सुख. मिठो मसिनो साट्ने माध्यम पनि हराइ सक्यो।’ बलम्पाकीले भने। ‘हामी जुन देशबाट आएपनि नेपाली भाषी हौ, कसैले पनि आफ्नो भाषा नमासोस् भन्ने छ।’
कार्यक्रममा थप तस्बिरहरु…