कोशीको राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले र राप्रपाले तालमेल गर्ने
विराटनगर । राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि चयन गर्न हुन लागेको निर्वाचनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशीमा तालमेल गरेका छन् ।
दुई पार्टीका नेताहरुबीच सोमबार भएको छलफलमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा तालमेल गर्न सहमति भएको हो ।
छलफलमा एकअर्कालाई सघाउने गरी तालमेल गरिएको एमाले कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले बताए ।
उनका अनुसार एमालेका मतदाताले अन्यतर्फ राप्रपाका उम्मेदवार उद्धव पौडेललाई तथा राप्रपाका मतदाताले महिलातर्फ एमालेकी उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्ने सहमति भएको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट दुई सिटका लागि मतदान हुँदैछ । एमालेले राप्रपाका उद्धव पौडेललाई सघाउने निर्णय गरेसँगै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कृष्ण सिटौलाको चुनौती भने थपिएको छ ।
कोशी प्रदेशमा १० हजार १ सय ३५ कूल मतभारमध्ये ९३ जना प्रदेश सभा सदस्यको ४ हजार ९ सय २९ मतभार रहेको छ । प्रदेश सभामा ठूलो दल एमालेसँग ४० र राप्रपासँग ६ जना प्रदेश सभा सदस्य छन् । कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी जसपाका १ जना प्रदेश सभा सदस्य छन् । प्रदेश सभामा एमाले–राप्रपाको तालमेल हुदाँसमेत २ हजार ४ सय ३८ र सत्तारुढ गठबन्धनको २ हजार ४ सय ९१ मतभार रहेको छ ।
त्यसैगरी, प्रदेशका १ सय ३७ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कुल २ सय ७४ जनाले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नेछन् । उनीहरुको मतभार ५ हजार २ सय ६ पुग्छ ।
प्रदेश र स्थानीय तह गरेर स्वतन्त्रबाहेक गठबन्धनसँग ५ हजार ४ सय ३६ तथा एमाले राप्रपा तालमेलसँग ४ हजार ६ सय ४२ मतभार रहन्छ ।