तिमी अक्षर जस्तै बाँच्नु
तिमी अक्षर जस्तै बाँच्नु
तिमी अक्षर जसरी बाँच्नु
अक्षर सँग भेद रहित बाँच्नु
समयले धेरै छिटो छिटो पानाहरू फर्काए पनि
तिमी तिम्रै अक्षरहरू जस्तो अनवरत बाँच्नु
समकालीन हुनु अविच्छिन्न हुनु अनि
मतान्तर रहित बाँच्नु ।
कालान्तरमा कसैले अनुमान गरोस्
तिमी र तिम्रा अक्षरहरू कुनै बेला
समकालीन थियौ।
सेक्सपियर जस्तै,
लक्ष्मीप्रसाद र
माधव प्रसाद अनि लेखनाथ जस्तै
तिम्रा शब्दका ध्वनिले
यो संसार कम्पित भइरहोस्।
काल चक्रले तिम्रा अक्षर र
तिमीलाई पृथक् नगरोस्
त्यसैले तिमी अक्षर जस्तै बाँच्नु ।
अक्षर सँग समकालीन हुन नसके पनि
तिम्रा अक्षरहरू जस्तै
समकालीन बाँचिरहनु
त्यसैले तिमी
अक्षर सँगै अक्षर जस्तै
निरन्तर बाँच्नु।अनन्त अमर भएर
अटुट क्षतिरहित बाँच्नु ।
नारायण भण्डारी
जुलाई २२,२०२३
राउन्ड रक, टेक्सास