एनआरएनए आइसीसी आरके शर्मा नेतृत्व समूहले प्रधानमन्त्रीलाई पनि भेट्यो,सहकार्यको आश्वासन दिएको दाबी
काठमाडौँ । गैर आवासीय नेपाल संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को अध्यक्षमा निर्वाचित भएको दाबी गरेका अध्यक्ष आर के शर्मा समूहको नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।
एनआरएनए निर्वाचनको नतिजा घोषणा गर्ने क्रममा गम्भीर त्रुटि भेटिए पछि विवाद उत्पन्न भएको थियो। त्यस पछि डा बद्री केसी समूहले आफूलाई विजेता घोषणा गर्यो भने अध्यक्षका अन्य उम्मेदवार शर्मा र महेश श्रेष्ठ समूहले पनि छुट्टै समिति बनाएको छ।
दुवै समूहले आफ्नो कदम ठिक भन्दै राजनीतिक भेटघाट सुरु गरेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आर के शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको शर्माको सचिवालयले जारी गरेको प्रेस नोटमा जनाइएको छ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिमा गैर आवासीय नेपालीहरूको भूमिका आवश्यक भएको भन्दै त्यसका लागि सरकार सहजीकरणको लागि तयार रहेको बताएका थिए।
“एनआरएनए अभियान एकताबद्ध भएर अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु,”प्रधानमन्त्री प्रचण्डले भने,“देश विकासका मुद्दामा सरकार सदैव गैर आवासीय नेपालीसँग सहकार्य गर्न तयार छ।”
प्रधानमन्त्री प्रचण्डले गैर आवासीय नेपालीहरूको माग अनुसार नागरिकता विधेयक कार्यान्वयन आएर गैर आवासीय नागरिकता दिन थालिएको र आगामी दिनमा विदेशबाट नेपाली मत दिन पाउने व्यवस्था कार्यान्वयन हुने बताएका थिए।
नयाँ कार्यसमितिसमक्ष नेपालमा लगानीको अनेकौँ अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले लगानी गर्न सुझाव दिएको जनाइएको छ। उनले मुलुकको समृद्धिमा गैर आवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै समृद्धिको यात्रामा सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गरेको बताइको छ।
सो अवसरमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष शर्माले संघ सरकारसँगको सहकार्यमा काम गर्न तयार रहेको बताएका थिए। आफूले चुनावी घोषणापत्रमा २४ महिने कार्यकालमा २४ वटा काम गर्ने वाचा गरेको भन्दै सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै उनले आफूहरू गैर आवासीय नेपालीलाई एकताबद्ध बनाउने अभियानमा रहेको बताएको जनाइएको छ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मा सहित पूर्व अध्यक्ष कुल आचार्य,सल्लाहकार महेश श्रेष्ठ, उपाध्यक्ष गोविन्द श्रेष्ठ,गंगाधर गौतम, महासचिव बुद्धि सागर सुवेदी,उपमहासचिव प्रवीण गुरुङ,सचिव टङ्क गैरे, मनोज श्रेष्ठ गोर्खाली,कोषाध्यक्ष ठाकुर ढुङ्गाना,एनआरएन अभियन्ता डिबी क्षेत्री,नारायण आचार्य,युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा लगायत अभियन्ताहरू सहभागी थिए।
एनआरएनए अध्यक्ष शर्माको नेतृत्वको टोलीले आइतबार नै अर्थमन्त्री प्रकाश सरण महत र परराष्ट्र मन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो ।
एनआरएनए आइसीसी आरके शर्मा समुहले भेट्यो परराष्ट्र र अर्थमन्त्री