अमेरिकामा सम्पन्न पहिलो दसैँ कप क्रिकेटको उपाधि ह्यारिसबर्ग गोर्खासलाई
ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियामा सम्पन्न दसैँ कप क्रिकेट प्रतियोगिताको उपाधि ह्यारसबर्ग गोर्खासले जितेको छ।
ह्यारिसबर्गको लोअर प्याक्सटन टाउनशिपमा रहेको लिङ्गल पार्कमा आइतबार सम्पन्न फाइनलमा आयोजक हन्टर वाइजलाई ७७ रनले हराउँदै गोर्खासले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार रहेको प्रतियोगिताको उपाधि जितेको हो।
निर्धारित १६ ओभरको फाइनल खेलमा गोर्खासले मात्र ६ विकेट खर्चेर एक सय ५२ रनको स्कोर खडा गरेको थियो।
आयोजक हन्टरलाई चुनौती पूर्ण स्कोर दिने क्रममा खगेन धिमालले सर्वाधिक ४१ रनको पारी खेले । ३८ बल खेलेका धिमालले पाँच छक्का प्रहार गरेका थिए। त्यस पछि संजोक बस्नेतले ३० रनको योगदान दिए।
अलराउण्डर वासु ढुङ्गानाले पनि अविजित २६ रनको योगदान दिएका थिए। मात्र नौ बल खेलेका ढुङ्गानाले चार छक्का प्रहार गरे। यस्तै उदय आचार्य दश रनमा अविजित रहे।
गोर्खासका लागि भगत भण्डारीले १८, सुक थिङ्गले नौ र दीपेन्द्र दङ्गालले पाँच रन जोडेका थिए।
वलिङ्गतर्फ हन्टरका सागर रेग्मी र गोपाल कार्कीले दुई दुई तथा धन गुरुङले एक विकेट लिएका थिए।
एक सय ५३ सनको चुनौती छिचोल्ने क्रममा आयोजक टिम हन्टर वाइज अन्तिम ओभर खेल्नु अगाडि मात्र ७५ रन जोड्ने क्रममा अल आउट भयो।
हन्टर वाइजको पारी ध्वस्त बनाउने क्रममा वासु एक्लैले चार विकेट लिए। उनी फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए।
यसै गरी अनिल न्यौपानेले दुई तथा विकास सुवेदी,दीपेन्द्र दङ्गाल र खगेन धिमालले एक एक विकेट लिए।
हन्टर वाइजका छिरिङ तामाङले सर्वाधिक २८ रन जोडे। यस्तै नकुल राईले १४ तथा विजय गुरुङले १३ जोडे पनि अन्यले दोहोरो अङ्क छुन नसक्दा आयोजक टिम पहिलो प्रतियोगिताको उपाधि घरमा राख्न असफल भयो।
ह्यारिसबर्ग भुटानी कम्युनिटी (बीसीएच)को सहकार्यमा आयोजित प्रतिगोयतालाई केयरगिभर अमेरिकाले प्रायोजन गरेको थियो।
शनिवार साँझ नै आयोजित एक समारोहका बिच डलफिन काउन्टीका कमिसनर चाड सेलोर, बीसीएचका अध्यक्ष तिलक निरौला लगायतले विजेता तथा उप विजेता टिमका खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा हिमालय किङ्गस न्यु योर्कमा उर्गेन छिरिङ उत्कृष्ट ब्याट्सम्यान घोषित भए। १२ टिमले भाग लिएको तीन दिने प्रतियोगितामा उर्गेनले एक सय २७ रन जोडेका थिए। जसमा १५ छक्का रहेको थियो। उनीले प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको उपाधि पनि जिते।
प्रतियोगितामा सबै भन्दा धेरै चौका प्रहार गर्ने उपाधि ड्रुक च्यालेन्जरका राजन दाहालले पाए। उनले १० चौका प्रहार गरेका थिए।
सबै भन्दा धेरै विकेट लिने तर्फको उपाधि ह्यारिसबर्ग गोर्खासका अनिल न्यौपाने जिते। उनले नौ विकेट लिएका थिए। न्यौपाने प्रतियोगिताको मोस्टभ्यालुएवल प्लेयर पनि घोषित भए।
वेस्ट फिल्डर हिमालयन किङ्गसका सुरज थापा घोषित भए। उनले ६ क्याच लिएका थिए। वेष्टविकेट किपर खगेन ह्यारिसबर्ग गोर्खा धिमाल घोषित भए।
प्रतियोगितामा फेयर प्ले ट्रफि न्यु योर्कले लग्यो।
प्रतियोगिताका थप तस्विरहरु..













