नागोर्ने–काराबाख : इन्धन डिपो विस्फोट हुँदा २० जनाको मृत्यु

अजरबैजान / नागोर्नो–काराबाखमा रहेको इन्धन डिपो विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । सो घटनामा परी सयौँ घाइते भएको स्थानीय आर्मेनियाली अधिकारीहरूले बताएका छन् ।
करिब ३०० मानिसहरूलाई अस्पतालमा भर्ना गरिएको थियो, जसमध्ये दर्जनौँ अझै पनि गम्भीर अवस्थामा छन् ।
आर्मेनियाली सरकारले १३ हजार ३५० शरणार्थीहरू एन्क्लेभबाट देश पार गरेको बताएको थियो । विवादित नागोर्नो–काराबाख क्षेत्रमा करिब एक लाख २० हजार जातीय आर्मेनियालीहरूको बहुमत रहेको छ ।
मुख्य सहर स्टेपानाकर्टमा सोमबार साँझ विस्फोट के कारणले भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन । मानव अधिकारकर्मी ओम्बड्सम्यान गेघम स्टेपान्यानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इन्धन गोदाममा विस्फोट हुँदा घाइते हुनेको सङ्ख्या २०० नाघेको छ । धेरैको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । नागोर्नो–काराबाखको चिकित्सा क्षमता पर्याप्त छैन ।’
मंगलबार एक विज्ञप्तिमा स्थानीय अधिकारीहरूले घटनास्थलमा १३ अपरिचित शव भेटिएको र थप सात जनाको मृत्यु अस्पतालमा भएको बताएका छन् ।
गत साता अजरबैजानले नागोर्नो–काराबाख कब्जा गरेपछि, येरेभानमा आर्मेनियाली सरकारले लडाइँबाट घरबारविहीन भएकाहरूलाई स्थानान्तरण गर्ने योजना घोषणा गरेपछि हजारौँ मानिसहरूले सो क्षेत्र छोडेका छन् ।