एनआरएनए डेलिगेट लिस्ट निर्वाचन आयोगमा, अस्ट्रेलियामा सर्वाधिक २२ जनाको नाम परिवर्तन
पेन्सिल्भेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी निर्वाचनका लागि डेलिगेट (मतदाता) नामावली निर्वाचन आयोग प्राप्त गरेको जनाएको छ।
एनआरएनएको विधानमा आइसीसीले तोकेको मापदण्डमा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) ले डेलिगेटको नाम पठाउनु पर्ने हुन्छ।
तर अमेरिका, अस्ट्रेलिया सहितका केही एनसीसीहरुले पठाएको लिस्टमा विवाद उत्पन्न भए पछि आइसीसीले अन्तिम निर्णय लिन कमिटी गठन गरेको थियो।
कमिटीमा अध्यक्ष त्रय डा.बद्री केसी, कुल आचार्य र रवीना थापा, महासचिव द्वय डा. केशव पौडेल र गौरी जोशी तथा वर्तमान उपाध्यक्ष तथा आगामी अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र आरके शर्मा रहेका थिए।
सुरुमा सेप्टेम्बर २० तारिकमा मतदाता नामावली प्रकाशन गर्ने भनिएको थियो। पछि त्यसलाई संशोधन गर्दै २४ तारिख पुर्याइएको थियो। तर अन्तिम समयमा निर्वाचन आयोगले प्राविधिक कारण भन्दै नामावली प्रकाशित गर्न नसकिएको सूचना जारी गरेको थियो।
तर आइसीसी पदाधिकारीका अनुसार एनसीसी अस्ट्रेलियाको लिस्टमा सबै भन्दा धेरै जनाको विवाद निस्किए पछि समस्या भएको हो।
‘हामीले ४२ सय १२ जनाको नाम सोमवार प्राप्त गरेका छौ’ निर्वाचन आयोगका सदस्य चिरञ्जीवी ढकालले समाज टाइम्स सँग भने,’अब नेपालमा कार्यालय खुले पछि नामावली वेवसाइडमा प्रकाशित हुन्छ।’
ढकालले वेवसाइड बाट नै नाम प्रकाशित गर्ने दाबी गरे। ‘४२ सय १२ जनाको नाम अहिले मेरो हातमा छ। छाप नै लागेर आइसक्यो अब हामी प्रक्रियामा गयौ।’ उनले भने।
आइसीसीका एक पदाधिकारीका अनुसार एनसीसीले सुरुमा पठाएको लिस्ट मध्ये सबै भन्दा धेरै अष्ट्रेलियमा २२ जनाको नाम परिवर्तन भएको छ। ‘एनआरएनएको विधानले संवोधन नगरेको मान्छेलाई एनसीसीले सिफारिस गरेको रहेको रहेछ हामीले त्यसमा सुधार गर्न भन्यौ तर एनसीसी आफ्नो अडानमा रहे पछि हामी विधान अनुसार गयौ।’ ती पदाधिकारीले भने।
लिस्टमा अमेरिकाबाट तीन जनाको नाम परिवर्तन भएको छ। यस्तै माल्टामा सात र युकेमा पाँच जनाको नाम एनसीसीहरुले पठाएको भन्दा फरक परेको छ।
निर्वाचन कार्य तालिका अनुसार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने दिन सेप्टेम्बर २९ लाई तोकिएको छ भने मनोनयन दर्ता अक्टोबर १२–१४ सम्मलाई तोकिएको छ । मतदानको समय भने अक्टोबर १९ लाई तोकिएको छ ।

















