‘महासचिवमा मेरो पहिलो रोजाइ गौरी जोशी हो’ : महेश श्रेष्ठ, अध्यक्ष उम्मेदवार, एनआरएनए

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठले आफ्नो लागि महासचिवमा पहिलो रोजाइ गौरी जोशी भएको बताएका छन्।
समाज टाइम्स संवादको सोमवारको श्रृखलामा उनले आफूले महासचिवको बारेमा अन्तिम टुङ्गो नलगाएको बताए। उनले एनआरएनएको विधान अनुसार औपचारिक रूपमा टिम घोषणा गर्न नमिल्ने दाबी गरे।
‘महासचिवमा को को हुनुहुन्छ भनेर टुङ्गी सकेको अवस्था छैन, गौरी जी (जोशी)ले पनि घोषणा गर्नु भएको छ। तपाईँलाई थाहै छ गौरी जी सँग मेरो असाध्यै राम्रो सम्बन्ध छ व्यक्तिगत, हामी मिलेरै काम गरेका थियौ, उहाँ सँग आन्तरिक रूपमा धेरै कुरा भइरहेका छन्।’ श्रेष्ठले भने।
उनले गौरी सँग एक अर्कालाई सहयोग गर्ने गरी छलफल जारी रहेको बताए। ‘मैले चाहेको त गौरी जी हो हामी मिलेर जाऊ भनेर धेरै प्रयत्न भइरहेको हो, अझै पनि भइरहेको छ, हामी एक अर्काको सहयोगीको रूपमा अगाडि जान सक्छौ भनेर।’श्रेष्ठले भने।
एनआरएनए आइसीसीका वर्तमान उपाध्यक्ष श्रेष्ठले अमेरिका मिल्दा संस्थाको धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले अमेरिकाका सबै जना आफू सँगै हुने दाबी पनि गरे।
‘अमेरिका मिल्यो भने धेरै कुरा मिल्छ, संसारको नजर गएको छ एउटा शक्ति केन्द्र पनि हो। गौरी जी, केशव जी, सुनील जी बुद्धि जी हामी सबै एकै ठाउँमा हुन्छौ। हामीलाई फुटाउने प्रयास भइरहेको छ त्यो विफल हुन्छ।’ श्रेष्ठले भने।
श्रेष्ठले महासचिवमा दाबी गरी रहेका बेल्जियम निवासी गंगाधर गौतमलाई उपाध्यक्षमा व्यवस्थापन गर्ने सङ्केत गरे। महासचिवका अर्का आकाङ्क्षी गंगाधरलाई के गर्नु हुन्छ भन्ने प्रश्नमा उनले त्यस्तो सङ्केत गरेका हुन्।
‘गङ्गा जीलाई अरू पद छ, उपाध्यक्ष छ। कति कुरा मैले नै राख्ने भन्ने हुँदैन नोमिनेशन सम्म को कहाँ हुन्छ भन्न सकिँदैन।’ श्रेष्ठले भने, ‘छलफल हुँदै छ। गङ्गा र बुद्धि जी मिल्नु हुन्छ। अन्यथा हुँदैन। केही दिनमा रिजल्ट थाहा पाउनु हुन्छ।’
श्रेष्ठले तीन जना मध्ये एक जना मात्र महासचिवको उम्मेदवार हुने दाबी गरे। ‘बुद्धि जी उपयुक्त पात्र हो तर गौरी जी र गङ्गा जी सँग पनि कुरा भइरहेको छ। तीन जनामा एक जना हुनुहुन्छ।’ उनले भने।
अर्को प्रसङ्गमा श्रेष्ठले अहिलेको अवस्थामा सबैलाई मिलाएर लैजाने र जित्न सक्ने उम्मेदवार आफू नै भएको दाबी गरे।
अन्तिम समयमा तपाईँले डा. बद्री केसीलाई छोड्नु हुन्छ भन्ने शङ्का छ नि भन्ने प्रश्नमा उनले अब त्यो सम्भव नभएको बताए।
‘त्यो चाइ सम्भव भएन अब,हाम्रो केही चरणमा कुराकानी पनि भयो,मैले धेरै साथीहरू सँग सल्लाह गरेर निर्णय लिएको हुँ, यो भन्दा अगाडि अमेरिकाकै डा.केशव पौडेल पनि रेसमा हुनुहुन्थ्यो अध्यक्षको। उहाँले पनि सौहार्द पूर्ण तरिकाले छोडिदिनु भयो।’ श्रेष्ठले भने, ‘अरू धेरै साथीहरूले छोडिदिनु भयो धेरै साथीहरूले अहिलेको लागि तपाई नै उपयुक्त पात्र हुनुहुन्छ भनेको भएर छोडी सके पछि अब मैले छोड्ने कुरै भएन, त्यस्तो किसिमको अविश्वास गर्न भएन।’
उनले अगाडि थपे, ‘तर बद्री जीले त्यो सौहार्द्यता देखाउन सक्नु हुन्छ। बद्रीले मलाई तथा आरके जीले मलाई छोड्ने सम्भावना छ।’ उनले भने।
श्रेष्ठले आफ्नो नाममा सर्वसम्मत हुने सम्भावना पनि रहेको बताए।
‘यो राम्रो जस्तो संस्थामा सर्वसम्मत र सहमतिकै कार्यसमिति बन्नु पर्छ भन्ने त म पहिले देखि नै हो र अहिले पनि सर्वसम्मत गरौँ भन्ने थियो। सर्वसम्मत हुन प्रयत्न त छ। त्यो सम्भावना टरेको छैन ।’ उनले भने।
सर्वसम्मत तपाईँको नाममा की बद्रीजीको नाममा अथवा रवीना जीको नाममा भन्ने प्रश्नमा श्रेष्ठले आफू पछाडि फर्कने अवस्था नरहेको बताए।
‘बद्री जीको नाममा सर्वसम्मत हुने सम्भावना त छैन र मैले पछाडि हट्न सक्ने अवस्था छैन त्यो मेरो आफ्नो नाममा सर्वसम्मत भए हुने नत्र नहुने भन्ने कुरा आउँछ त्यो झिनो सम्भावना मेरो नाममा हुने सम्भावनालाई राखौँ ।’
उनले बद्री केसी संरक्षकमा बसेर नयाँलाई सहयोग गर्नु पर्ने बताए। ‘उहाँले लामो समय काम गर्नु भयो अब नयाँलाई पालो दिए भइगयो नि ।’ श्रेष्ठले भने।
श्रेष्ठ सँगको समाज टाइम्स संवादको पुरा भिडियो