गलत नीतिकै कारण महँगी बढेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको आरोप
काठमाडौँ । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले, राज्यले लिएको गलत नीतिकै कारण महँगी बढेको आरोप लगाएका छन् ।
आइतबार ललितपुरमा आयोजित ‘बढ्दो महँगी र उपभोक्ताको हितको सवाल’ विषयक बिचार गोष्ठीमा उनले राज्यले लिएको गलत नीतिकै कारण अर्थतन्त्र धराशायी बनेको आरोप लगाए ।
राज्यले लिएको गलत नीतिकै कारण व्यवसायी, आम जनता र राज्य नै पीडामा परेको उनको तर्क छ ।
‘कोभिड पश्चात् रुस युक्रेन युद्ध भयो त्यसले गर्दा हाम्रो बाह्य क्षेत्रमा समस्या भयो । त्यो समस्यालाई सम्बोधन गर्नलाई राज्यले अलि कडा नीतिहरू लियो र त्यही नीतिले गर्दा खेरी आजको परिस्थिति आयो । त्यस बेला महासङ्घको तर्फबाट बारम्बार यत्तिको कडा नीति लिनु हुँदैन, कन्ट्रोलिङ गर्ने किसिमले जानु हुँदैन भनेर हामीले कुरा राखेका थियौ । त्यो कुरा सुनिएन र अहिलेको परिस्थिति आयो । अहिले सबै पीडामा छन्। व्यवसायी,जनमानस मात्र होइन राज्य नै पीडामा छ अहिले ।’
राज्यको राजस्व घटेको, सरकारी कर्मचारीलाई तलब खुवाउन नसकेको र ऋण लिएर राज्य चलाउनु पर्ने अवस्था आउनुमा राज्यको लिएको गलत नीति जिम्मेवार भएको उनको ठोकुवा छ ।
त्यस्तै उनले उत्पादकत्व बढाउन जोड दिँदै उपभोक्तालाई सुलभ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन सरकारले चनाखो हुनुपर्ने बताए । साथै उपभोक्तालाई मार नपर्ने गरी करको दर घटाउनुपर्ने धारणा उनको छ ।