घाँस झार्न चढेका बेला रुखमै मृत्यु
विराटनगर । बाख्रालाई घाँस काट्न खरीको रुखमा चढेका झापाका एक व्यक्तिको रुखमै मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–८ रत्न चोक निवासी ७५ वर्षीय वृद्ध सन्तबहादुर तामाङको आइतबार रुखमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनीश बुढाथोकीका अनुसार सन्तबहादुर घरनजिकको करिब ४० फुट अग्लो खरीको रुखमा बाख्रालाई घाँस काट्न चढेका थिए ।
घाँस काट्दा काट्दै उनी बेहोस भई रुखको हाँगाको कापमा अड्किएका थिए । त्यति बेला रुखमुनि उनकी श्रीमती फूलमाया र छोरा कुमार घाँस बटुल्दै थिए । घाँस झार्न रुख चढेका अभिभावक रुखमा अड्किएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले तामाङलाई रुखबाट निकालेको थियो । त्यबेला उनको मृत्यु भइसकेको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।
प्रहरीका अनुसार तामाङलाई उच्च रक्तचापको समस्या थियो । उनको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल दमक पठाइएको छ ।