एनआरएनएहरूको लगानीमा बन्ने जल्दिगाड जलविद्युत आयोजनाको पीपीए सम्पन्न
काठमाडौँ । रुकुम पश्चिममा निर्माण हुने २०.७३ मेगावाट क्षमताको जल्दिगाड जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता पीपीए गरिएको छ ।
आयोजनाको प्रवर्द्धक साङ्ग्रिला हाइड्रोपावर प्रा.ली र नेपाल विद्युत् प्राधिकरणबिच मङ्गलवार ६ महिना हिउँद र ६ महिना बर्षायाम हुने गरी टेक अर पे मोडलमा पीपीए हस्ताक्षर भएको हो । आयोजनाले उत्पादन गरेको विद्युत् हिउँद याममा ८ रुपैयाँ ४० पैसा र वर्षा याममा ४ रुपैयाँ ८० पैसामा विद्युत् प्राधिकरणले खरिद गर्ने गरी सम्झौता भएको छ ।
आयोजनाका तर्फबाट साङ्ग्रिला हाइड्रोपावर प्रा.लीका अध्यक्ष खगेन्द्र न्यौपाने र विद्युत् प्राधिकरणका तर्फबाट
उप कार्यकारी निर्देशक प्रदीप कुमार थिकेले सम्झौतामा हस्ताक्षर गरेका छन् । साङ्ग्रिला हाइड्रोपावर प्रा.लीमा मलेसियामा बसेर विभिन्न क्षेत्रमा व्यवसाय गरेका सफल व्यवसायी गैर आवासीय नेपाली सङ्घ एनआरएनए आइसिसी सचिव खगेन्द्र न्यौपाने अध्यक्ष र सञ्चालकहरूमा एनआरएनए आइसिसी उपाध्यक्ष एवं सफल व्यवसायी आरके शर्मा,एनआरएनए युवा उपाध्यक्ष एवं कतारका सफल युवा व्यवसायी राज रेग्मी,युवा व्यवसायी नवीन कँडेल, युवा व्यवसायी रविन गुरुङ र व्यवसायी सरोज धिताल रहेका छन् । यो हाइड्रोलाई चुस्त र बलियो टिमसहित समयमा काम सम्पन्न गर्ने अध्यक्ष न्यौपानेले बताए । उक्त हाइड्रोपावरमा ठुलो लगानी एनआरएनएहरूको रहनेछ भने नेपालमा रहेर विभिन्न क्षेत्रमा अब्बलता कमाएका ब्याबसायीहरुको पनि लगानी रहने अध्यक्ष न्यौपानेले बताए । उक्त हाइड्रोको प्रमुख लगानीकर्ताहरूमा एनआरएनए आइसिसी सचिव खगेन्द्र न्यौपाने, एनआरएनए आइसिसी उपाध्यक्ष आरके शर्मा ,एनआरएनए युवा उपाध्यक्ष राज रेग्मी युवा व्यवसायी रविन गुरुङ सहित रहनेछन् ।
रुकुम पश्चिम आठविसकोट नगरपालिका वार्ड नम्बर ३ र ४ मा निर्माण हुने आयोजना जल्दिगाड खोलामा निर्माण हुनेछ ।
४२२ मिटर हेड रहेको आयोजनाको डिजाइन क्यु ४२।५ रहेको छ । आयोजनामा २ हजार ५०० मिटर सुरुङ मार्ग र ३५०० मिटर पेन स्टक पाइप प्रयोग गर्ने गरी बन्नेछ ।
आयोजनाले विद्युतगृहदेखि नेपाल विद्युत् प्राधिकरणको बाफिकोट सबस्टेशनसम्म १३२ केभी क्षमताको सब स्टेसन वा ८ किमी नजिक रहेको ४०० केभी को जाजरकोट दाने पिपलमा रहेको सबस्टेशनमा जोडिनेछ । आयोजना सम्म जाने पहुँच मार्ग खुलिसकेको र स्तरोन्नति गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणको अनुमानित लागत ४ अर्ब रुपैयाँ रहेको छ ।
यसै वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने तयारी रहेको जल्दिगाड हाइड्रोका अध्यक्ष न्यौपानेले जानकारी दिए । आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने मिति २०८५ मङ्सिर भित्र रहेको छ । आयोजनाबाट वार्षिक रूपमा १२७.२९ गिगावाट आवर विद्युत् ऊर्जा उत्पादन हुनेछ ।