सामाजिक सञ्जालका खराब पात्रलाई नेता बनाउन खोजिदैँछ : प्रधानमन्त्री प्रचण्ड
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, वैदेशिक रोजगारीमा रहेका युवाहरूको भविष्यको लागि गम्भीरतापूर्वक लागिरहेको बताएका छन् ।
सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका युवाहरूको भविष्यबारे नसोचीकन देशको परिवर्तन नहुने भन्दै उनीहरूको सुरक्षा, आत्मसम्मान र रोजगारी सिर्जना गर्न सरकार गम्भीरतापूर्वक लागेको बताए ।
उनले भने, “यस पटक मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौँ नेपाली युवाहरूप्रति छ । उनीहरूको भविष्यबारे नसोचीकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन । त्यसैले यस पटक के गरी उनीहरूको हित रक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसमा गम्भीरतापूर्वक लागेको छु । विदेशमा रहेका लाखौँ युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रिया सुरु गरेका छौँ । केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आबद्ध गर्छौँ।“
उनले देशभित्रै केही गर्न चाहने युवाहरूको लागि वातावरण बनाउने जिम्मेवारी राज्यको भएको भन्दै त्यसको लागि १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तरक्रिया सुरु गरेको बताए ।
“आजबाट विभिन्न १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तरक्रिया सुरु गरेको छु । विदेशमा रहेका नेपाली कामदारहरूका समस्या के छन् र कसरी सम्बोधन गर्ने भन्ने गम्भीर छलफल गर्छौँ।“ सचिवालयले जनाएको छ ।
सामाजिक न्याय, सुशासन र समृद्धिबाट नै समाजवादको आधार तयार पार्न सकिने भन्दै त्यसको लागि सरकारले कठोर कदम चालेको बताए ।
प्रदेशको नामकरणबारे बोल्दै सामाजिक सद्भाव खलबल्याउने र जातीय द्वन्द्व भड्काएर परिवर्तनका उपलब्धि उल्टाउने बहाना खोजिरहेका अवस्थामा विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिने उनको भनाई छ ।
उनले सामाजिक सञ्जालमा समाजका सबैभन्दा खराब पात्र नै नेता बनाउन खोजिँदै छ, यो देशको भविष्यकै निम्ति गम्भीर कुरा भएको भन्दै सचेत हुन आवश्यक भएको बताए ।
देशमा असल संस्कार, असल राजनीति र निष्ठा स्थापित गर्ने जिम्मेवारी हाम्रो हो, अरूले गर्दैनन् र सक्दैनन् पनि“
सन्देश सभामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतले सम्बोधन गरेका थिए ।