ढुक्क रहनुस् निजामती विधेयकमा ट्रेड युनियन अधिकार व्यवस्थामा केही परिवर्तन गरेका छैनौँ : प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत् राखिएको बताएका छन् ।
शुक्रवार २० औँ निजामती सेवा दिवस, २०८० को अवसरमा उनले विधेयकमा अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरिएको बताएका हुन् ।
उनले भने,‘ ट्रेड युनियन अधिकारको व्यवस्थामा हामीले केही पनि परिवर्तन गरेका छैनौँ । त्यसमा तपाईँहरू ढुक्क रहनुहोला । हामीले यो प्रशासनलाई कसरी बलियो बनाउने भन्ने बारे हामी सबैले विचार गर्नुपर्छ ।’
सोही समारोहमा ट्रेड युनियनको तर्फबाट उत्तम कटुवालले सम्बोधन गर्ने क्रममा ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका थिए ।
प्रधानमन्त्री दाहालले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवा विधेयक पारित गर्दै संसद्मा पेस गर्ने निर्णय गरेको जानकारी समेत दिए ।
निजामती सेवा दिवस, २०८० का अवसरमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ले गरेकाे सम्बोधन
निजामती सेवा दिवस मूल समारोह कार्यक्रमका अध्यक्ष तथा नेपाल सरकारका मुख्यसचिवज्यू,
कार्यक्रमका विशिष्ट अतिथि माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू,
नेपाल सरकारका सचिवज्यूहरू,
सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू,
ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरू,
सुरक्षा अङ्गका प्रमुख एवं प्रतिनिधिहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय महानुभावहरू ।
“व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने मूल नारासहित भव्य रूपमा मनाउन लागिएको बिसौँ निजामती सेवा दिवसको यस महत्त्वपूर्ण अवसरमा सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीहरूको व्यक्तिगत र व्यावसायिक जीवनमा सफलताको शुभकामना व्यक्त गर्दछु ।
मुलुकका ठुला राजनीतिक परिवर्तनमा तपाई निजामती कर्मचारीहरूको अहम् भूमिका रहिआएको छ । मुलुकको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण, सेवा प्रवाह र सङ्क्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्याएको योगदान महत्त्वपूर्ण छ । यसका निम्ति तपाईँहरू प्रशंसाका पात्र हुनुहुन्छ ।
राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकास, समृद्धि र सुशासनका एजेन्डामा लैजाने हाम्रो मुख्य कार्यभार हो । राजनीतिक परिवर्तनका निम्ति सङ्घर्ष गरेका जनतालाई शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती दुवै हामीसामु छ । यसले मात्र लोकतन्त्र बलियो हुन्छ, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि हुन सक्दछ । सामाजिक न्याय, सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही काम गर्नुपर्दछ । तसर्थ, गठबन्धन दलहरूको साझा न्यूनतम कार्यक्रम, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्नु यति बेलाको हाम्रो मुख्य जिम्मेवारी हो ।
संविधानको मूल मर्म, भावनालाई आत्मसाथ गरी सङ्घीयताको प्रभावकारी कार्यान्वयन, शासकीय संरचना र कार्यशैली, सार्वजनिक सेवा प्रवाहमा सुधारका साथै भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको कुरा हामीलाई अवगत नै छ । निराशालाई चिर्दै जनतामा आशाको रक्तसञ्चारसहित राष्ट्रको मुहार फेर्ने यस अभियानमा निजामती कर्मचारी साथीहरू मन, वचन र कर्मले दृढतापूर्वक क्रियाशील रहनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
राजनीतिक परिवर्तनसँगै निजामती प्रशासनलाई रूपान्तरण गर्न २०१३ भाद्र २२ मा जारी भएको निजामती सेवा ऐनको भूमिकालाई समेत आत्मसाथ गरी अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरूप निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक छ । यसका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण रूपमा प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा दक्ष, सुदृढ, उच्च मनोबलयुक्त सेवामूलक, उत्तरदायी, व्यावसायिक निजामती प्रशासनको विकासका लागि नीतिगत, कानुनी, संस्थागत, संरचनागत र व्यवहारिक प्रबन्ध गर्नुपर्दछ ।
उल्लेखित तथ्यलाई ध्यान दिँदै लामो समयदेखि प्रतीक्षारत सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक हिजो मात्र नेपाल सरकार मन्त्रिपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको छ । राजनीतिक दलहरूको सहमतिबाट सांसदले उक्त विधेयक यथाशक्य छिटो पारित गर्नेछ भन्ने विश्वास मैले लिएको छु । सङ्घ, प्रदेश र स्थानीय तहबिचको प्रशासनिक अन्तरसम्बन्ध कायम गर्न, तीन तहबिच प्रशासनको कार्यात्मक अन्तरसम्बन्धलाई मजबुत बनाई प्रशासनिक सङ्घीयतालाई संस्थागत गर्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र कार्यान्वयनमा सङ्घीय निजामती सेवा ऐन कोशे ढुङ्गा हुने नै छ ।
मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित र उच्च मनोबलयुक्त, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जबाफदेही, स्वच्छ, सक्षम र प्रविधिमैत्री बनाई निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध छ । भविष्यमा दण्ड र पुरस्कारको व्यवस्थालाई ठोस रूपमा अगाडि बढाई राष्ट्र र जनताको हित र सेवामा समर्पित भई कार्यक्षेत्रमा खट्ने असल, सक्षम र कर्तव्यनिष्ठ कर्मचारीहरूलाई थप उत्प्रेरित गरिने विश्वाससमेत दिलाउँछु ।
अन्तमा, निजामती सेवामा महत्त्वपूर्ण योगदान पुर्याई आज पुरस्कृत हुनुहुने सबै राष्ट्रसेवक कर्मचारीलाई बधाई दिँदै सङ्घ, प्रदेश र स्थानीय तहमा कार्य।रत कर्मचारी साथीहरूको चासो र चिन्तालाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्दै फेरि एक पटक २० औँ निजामती सेवा दिवसको शुभकामनासहित बिदा हुन्छु, धन्यवाद ।
(२२ भाद्र २०८०, सिंहदरबार)