मन्त्री भण्डारीलाई सांसद सुवालको प्रश्न,नेपाली युवाले स्वदेशमा रोजगारी कहिले पाउने हो ?
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीलाई सांसद प्रेम सुवालले, नेपाली युवाले स्वदेशमै रोजगारी कहिले पाउने भन्ने प्रश्न सोधेका छन् ।
आज संसदमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा सुवालले सोधेको प्रश्नको जवाफमा मन्त्री भण्डारीले, नेपाल सरकार हरेक युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने कुरामा प्रतिबद्ध रहेको दाबी गरे ।
उनले बिस्तारै अर्थतन्त्र उकालो लाग्ने बाटोमा रहेको अर्थमन्त्रीले समेत बताएको भन्दै अब बिस्तारै स्वदेशमै रोजगार सिर्जना गर्ने बाटोमा सरकार लागेको दाबी गरे ।
उनले भने ‘प्रत्येक ७ सय ५३ पालिकामा रोजगार सेवा केन्द्रको स्थापना भएको छ । रोजगार सेवा केन्द्रलाई रोजगार सेवा हबको रूपमा चैँ यसलाई अगाडि बढाउने दृष्टिकोण चैँ सरकारले राखेको छ ।’
त्यस्तै देशभरका बेरोजगारहरूको तथ्याङ्क राख्ने सफ्टवेयर निर्माणको काम भइरहेको र त्यसको आधारमा रोजगार उपलब्ध गराउने गरी काम भइहरेको बताए ।
वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले सक्दो प्रयास गरिरहेको उनको भनाई छ ।