नेपालको शान्ति प्रक्रियाबारे अमेरिकी चासो
काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी सिनेटर क्रिस भान होलेन नेतृत्वको टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबामा भएको भेटवार्तामा होलेन नेतृत्वको टोलीले नेपालको शान्ति प्रक्रियाका बारेमा चासो राखेको हो ।
संसदमा प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीलाई अमेरिकी सिनेटर होलेनले नेपालको बाँकी रहेको शान्ति प्रक्रियाको काम कसरी अघि बढ्छ र निष्कर्षमा पुग्छ भन्दै जिज्ञाषा राखेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले अन्तार्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला र पीडितमैत्री हुने गरी शान्ति प्रक्रिया टुंगोमा पुग्ने बताएका भेटवार्तामा सहभागी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
भेटवार्तामा सिनेटरले एमसीसी कार्यान्वयनमा नेपाल अघि बढिरहेको अवस्थामा आफुहरु खुसी र सकारात्मक भएको बताएका थिए । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार नेपाल आएका हुन् ।