एनआरएनएमा लोकतान्त्रिक समूहबाट महेश र बुद्धि पक्का, फाइनल लिस्ट लन्डनबाट आउने

पेन्सलभेनिया । गैर आवासीय नेपाली संघ एनआरएनएको लोकतान्त्रिक समूहले उम्मेदवार टुंगो लगाएको छ । तर, औपचारिकरुपमा भने केही दिनमा सार्वजनिक हुने बताइएको छ ।
लोकतान्त्रिक समूहको उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष कुल आचार्यलाई दिइएको छ । यो समूहले मोटामोटीरुपमा उम्मेदवारको टुंगो लगाए पनि अहिले नै सार्वजनिक भने नगर्ने बुझिएको छ ।
उम्मेदवारको अन्तिम लिस्ट लन्डनमा टुंग्याउने गरी सहमति पनि जुटेको बताइएको छ । लोकतान्त्रिक समूहबाट वर्तमान अध्यक्ष रविना थापा, उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव डा. केशव पौडेलले अध्यक्षमा इच्छा देखाएका थिए । पछिल्लो तीन चार दिन लगातार छलफल हुँदा रविनाको चर्चा नै गरिएन भने विशेषगरी उपाध्यक्ष महेश र महासचिव डा. केशबको विषयमा छलफल केन्द्रित रहेको थियो ।
तर, यस पटक उपाध्यक्ष महेशलाई अध्यक्षमा अघि सार्ने सहमति भएको बुझिएको छ । वर्तमान महासचिव डा. केशव भने उपाध्यक्ष बन्दा अमेरिकाकै बुद्धिसागर सुवेदीलाई महासचिवको रुपमा अघि बढाउने सहमति भएको बुझिएको छ ।
एनआरएनएमा पनि नेपालका राजनीतिक दलहरुको जस्तै सत्ता समिकरणको प्रभाव पर्ने भएकाले माओवादी निकट आरके शर्मालाई कसरी म्यानेज गर्ने भन्ने विषयमा छलफल अब केन्द्रीत भएको बुझिएको छ । आरकेले पनि अध्यक्षको तयारी गरेकाले उनलाई पनि मनाउने जिम्मा कुल आचार्यलाई नै दिइएको छ ।
तर, आरके निकट व्यक्तिहरुले तयारी धेरै अगाडि बढि सकेकाले ब्याक हुने अवस्था नरहेको बताउने गरेका छन् । यस्तै, वर्तमान कार्यकारी अध्यक्ष डा. बद्री केसीले पनि अध्यक्षको लागि पहिला तयारी सुरु गरे पनि अब प्रतिनिधिको टुंगो लागेपछि मात्रै निर्णय गर्ने उनी निकट स्रोतले समाजटाइम्सलाई बताएको छ ।