सदस्य घटेको कुरामा कुनै सत्यता छैन : एमाले

काठमाडौं । नेकपा एमाले ले पार्टी सदस्यता नवीकरण नगर्नेको संख्या घटेको कुरामा कुनै सत्यता नभएको जिकिर गरेको छ ।
बिहीबार एमालेको संगठन विभागले एक विज्ञप्ति जारी गर्दै सदस्यहरूको नवीकरण कार्य केन्द्रीय कमिटीले तोकेको अन्तिम मिति असार मसान्तभित्रै सम्पन्न भइसकेको भन्दै संख्या घटेको भन्ने कुरा सत्य नभएको जनाएको हो ।
‘सदस्यहरूको विवरण र तोकिएको शुल्क तथा लेबी प्रदेश हुँदै केन्द्रमा आउने क्रम आरम्भ भइसकेको छ । साउन पहिलो हप्ताभित्र सबै रिपोर्ट केन्द्रमा आइपुग्ने छ र दोस्रो हप्ताभित्र केन्द्रीय संगठन विभागले प्रमाणीकरण गरेर सम्बन्धित प्रदेशहरूमा पठाउने छ । स्मरणीय छ, यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरूको सदस्यता नवीकरण गरिन्थ्यो । त्यसो गर्दा निस्क्रिय सदस्यहरूले पनि नवीकरण गर्ने अवसर पाउँथे ।’
यसपटक पार्टीले सदस्यता वितरणमा समेत सुद्धिकरण गरिएको एमालले जनाएको छ । ‘नेतृत्वका आकाङ्क्षीहरूबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिदिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरूका कारण नेपाल कम्युनिष्ट पार्टी (एमाले) अनुचित ढङ्गले पनि सङ्ख्या बढ्न पुग्थ्यो । नेकपा (एमाले)को इतिहासमा यसपटक त्यसमा क्रमभङ्ग गरिएको छ ।’
महाधिवेशनको आयोजना नभएको समयमा सक्रिय सदस्यहरूको यथार्थ सङख्या लिन खोजेको र योग्यतम् सदस्यहरूको मात्र नवीकरण गर्ने काम भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । एमालेले यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यको सदस्यता नवीकरण हुने गरेको र जसले गर्दा निष्क्रिय सदस्यले पनि नवीकरण गर्ने अवसर पाउने गरेको उल्लेख गरेको छ ।